काठमाडौं– सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्।
समायोजन विधेयक विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री सुरेन्द्र कुमार यादवसँग आग्रह गर्दा पनि सुनुवाई नभए पछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सरकारी चिकित्सा संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए।
सरकारले माग सम्बोधन नगरेसम्म बन्दको कार्यक्रम जारी रहने उनले बताए। ‘माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘हाम्रो मागमा सरकार गम्भिर नभए अर्कोहप्ता सबै सरकारी डाक्टरले सामुहिक राजिनामा दिनेछन्।’
संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त विधेयक सच्याउन सरकारसँग आग्रह गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
घोषित कार्यक्रम अनुसार सोमबार देशभरका चिकित्सकहरुले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। मंगलबार माइतीघर मण्डलामा आफूहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गरेका थिए।
यस्तै, बुधबार सरकारी डाक्टरहरु सामूहिक बिदामा बसेका थिए भने बिहीबार राजीनामा संकलनको काम अगाडि बढाएका थिए।