काठमाडौं– अष्ट्रेलियामा एक हजारभन्दा बढी नेपाली विद्यार्थी समस्यामा परेको खबर सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले दर्ता नभएको कलेजमा विद्यार्थी पठाउने कन्सलटेन्सी, शिक्षा मन्त्रालयका कर्मचारी तथा विद्यार्थीलाई पठाउने अरु निकायहरुलाई कारबाहीको दायारामा ल्याउन छानबिन समिति बनाएको हो।
मन्त्रालयले उच्चशिक्षा शाखाका सहसचिव देवकुमारी गुरागाइँको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा उपसचिवहरु देवीप्रसाद उपाध्याय, कृष्ण पोखरेल र शंकर घिमिरे सदस्य छन्। समितिले बिहिबारबाट नै काम सुरु गरेको बताइएको छ।
कन्सलटेन्सीको झुटका कारण झण्डै १२ सय नेपाली विद्यार्थी अष्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा अलपत्र परेका छन्। उक्त कलेज दर्ता नै नभएको पाइएपछि विद्यार्थीको भविष्य अन्यौलमा परेको हो।
सरकारले कुटननीतिक पहलबाट विद्यार्थीका समस्या हल गर्ने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालय र अस्ट्रेलियास्थित नेपाली दूतावाससँग परामर्श गरिएको पनि बताइएको छ।