काठमाडौं - कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी डाक्टरले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। सरकारी चिकित्सक संघ (गोदान) को अगुवाईमा अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरिएको हो।
डाक्टरले सेवा बहिस्कार गरेपछि उपचारका लागि अस्पताल पुगेका हजारौँ बिरामी बिचल्लीमा परेका छन्। धेरै बिरामीहरु उपचार नगरी घर फर्किन बाध्य भएका हुन्।
वीर अस्पतालमा टिकट लिन लाइनमा बसेका बिरामीलाई समेत वेवास्ता गर्दै सरकारी डाक्टरले काउन्टरमा ताला लगाएका थिए। गोदानले बिहान ११ बजे लगाएको ताला दिउँसो १ बजे मात्र खोलेको थियो। जसका कारण ३ सयभन्दा बढी बिरामी प्रभावित भए।
यसैगरी, हाम्रा डडेलधुरा संवाददाता अनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा कार्यरत डाक्टरले पनि आकस्मीक सेवा बाहेक सबै सेवा बन्द गर्दा बिरामी समस्यामा परेका थिए।
उपक्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गरेपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका हुन्।
गाँउबाट उपचारको लागी अस्पतालमा पुगेका बिरामीहरुले आकस्मिक बाहेकका सेवा नपाएको गुनासो गरे।
‘आइतबारदेखी छोरीको विद्यालय भएकाले आज शुक्रवार उपचार गराउन आएँ तर यता त बन्द रहेछ’ अमरगढी चामाललेकी शान्तीदेवी तिरुवाले भनिन्, ‘हामी त गाँउघरका मान्छे बल्लतल्ल समय मिलाएर आएका थियौँ। यो त हामीमाथि अन्याय पो भयो त।’
ओपिडी सेवा बन्द भएपछि केही बिरामीले भने आकस्मिक कक्षको टिकट काटेर भए पनि उपचार गराएका छन्।
यस्तै, बुटवल, भैरहवा, चितवन, पोखरा, विराटनगरका अस्पतालमा पनि सेवा प्रभावित भएको खबर आएको छ।
एक महिनाअघि नै सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेपछि आन्दोलनमा उत्रनु परेको चिकित्सकको भनाइ छ।