राजविराज– नेपाली सेनाको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २ सय ९५ जनाको शल्यक्रिया गरिएको छ।
हर्नियाका ८५, पित्तथैलीका ५४ र हाइड्रोसिल भएका १० जनाकाे शल्यक्रिया गरिएकाे छ। यसैगरी, ६ हजार ३ सय ६८ पुरुष र ८ हजार ७ सय ६६ महिला गरी १५ हजार १ सय ३४ जनाले ३१ हजार ३ सय ७४ प्रकारका स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा पित्त तथा मृगौलाको पत्थरी, पुरुष ग्रन्थिको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक/कान/घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङ लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कोरका सहायक रथी डा राजिवराज शाहीले जानकारी दिए।
शिविरमा नेपाली सेनासहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका १ सय २६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी टोली परिचालित थिए।
शिविरमा अपेक्षाभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिएको शाहीले बताए। ‘हामीले ११ दिनमा ७ हजारदेखि ७ हजार ५ सयसम्म बिरामी हेर्ने अपेक्षा गरेका थियौं’, उनले भने, ‘तर, बिरामीको चाप र उनीहरुको अवस्था हेर्दा संख्याभन्दा पनि सेवा प्राथमिकतामा पर्याे।’ स्वास्थ्यकर्मीको टोलीले राती ८/९ बजेसम्म बसेर बिरामीको सेवा गरेको उनले बताए।
शिविरमा नाम लेखाएका तर सेवा नपाएका कैंयौं सर्वसाधारण रहेको भन्दै उनले दुःख व्यक्त गरे। ‘हामीले सकेसम्म सबैलाई सेवा दिने मनसायले काम गर्यौं, तर सफल हुन सकिएन’, उनले थपे, ‘चिकित्सकीय पेसा प्राविधिक कुरा पनि भएकाले धेरै कुरा हेर्नुपर्ने भयो, थप सेवा दिन सकिएन।’
शरिरमा अनेक समस्या बाेकेर बसेका सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सरकारले थप अन्य विकल्प सोच्नपुर्ने अवस्था रहेको पनि उनले प्रतिक्रिया दिए।
सप्तरीलगायत प्रदेश–२ का सिरहा तथा प्रदेश–१ का सुनसरी र उदयपुरबासीलाई लक्षित गरी शिविरको सञ्चालन गरिएको हो। शिविरमा ९५ लाख रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा केके राईले जानकारी दिए।