काठमाडौं– कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी डाक्टरले आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएका छन्।
सरकारी चिकित्सक संघ (गोदान) ले विज्ञप्ति जारी गरी आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको हो।
अनेकौं छलफल, उच्चस्तरीय भेटघाटले समेत चिकित्सकका समस्या समाधान नगरिएकाले आफूहरुले सरकारलाई अल्टिमेटम दिनु परेको संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए।
उनले भने, ‘हामीले माग पूरा गर्न आइतबारबाट ७२ घन्टे अल्टिमेटम दिएका छौं। नेपाल चिकित्सक संघको शनिबारको बैठकले यो निर्णय गरेको हो।’
अल्टिमेटम अवधिमा सबै सरकारी अस्पताल प्रांगणमा बिहान १० देखि ११ बजेसम्म विरोध तथा सचेतना धर्ना दिने कार्यक्रम रहेको छ।
१४ गतेभित्र समस्याको समाधान ननिस्किए १५ गते बुधबारनबाट देशभरिका सरकारी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने निर्णय गोदानले गरेको छ।
यस्तै १५ गते सरकाले मनाउन लागेको स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने र यति हुँदा पनि समाधान सबै सरकारी चिकित्सकले सामूहिक राजीनामा बुझाउने कार्यक्रम गोदानले तय गरेको छ।