फाइल तस्बिर
काठमाडौं– कर्मचारी समायोजन विधेकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक र स्वास्थ्य मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन भएको छ।
सरकारी चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिएको भोलिपल्ट आज सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि सरकारी चिकित्सकलाई बोलाएको थियो।
वार्ताका लागि मन्त्रालयका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, सचिव डा पुष्पा चौधरी र अर्का सचिव चन्द्रकुमार घिमिरे थिए। सरकारी चिकित्सकका तर्फबाट भने नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनिल पौडेल लगायत थिए।
वार्तामा मन्त्रालयको टोली सरकारी चिकित्सकका मागका विषयमा गम्भीर नभएपछि वार्ता निष्कर्षविहीन भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए। उनले सरकारले माग पूरा नगरे आन्दोलन जारी रहने बताए।