काठमाडौं– सरकारले सुरु गरेको बाल स्वास्थ्य खोप कार्ड नमुना प्रयोग कार्यक्रम थप पाँच जिल्लामा विस्तार भएको छ।
गत आर्थिक वर्षको साउनबाट प्लास्टिकको कभरभित्र राख्न मिल्ने बाल स्वास्थ्य कार्ड नाम दिइएको सो कार्डको नमुना जिल्लाका रुपमा सिन्धुली, दोलखा र धनुषामा सुरु गरिएको थियो।
बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन पनि कार्यक्रम महत्वपूर्ण हुने बताइएको छ ।
सिन्धुलीमा यो नमुना परीक्षणको प्रतिक्रिया सकारात्मक देखिएकाले चालु आर्थिक वर्षमा थप पाँच जिल्ला संखुवासभा, रौतहट, कपिलवस्तु, पर्वत र कैलालीमा कार्यक्रम सुरु भएको हो।
बच्चाको खोप कार्ड सुरक्षित कसरी राख्ने भन्ने विषयमा खोप दिने स्वास्थ्यकर्मीहरुलाई तालिम दिइरहेको परिवार कल्याण महाशाखाले जनाएको छ।
यी जिल्लामा कार्यक्रमको प्रभावकारिता हेरी आगामी वर्ष थप जिल्लामा विस्तार गर्दै लैजाने महाखाशाको योजना छ।
संखुवासभा र कपिलवस्तुबाहेक तीन जिल्लामा तालिम सकिइसकेको छ भने बाँकी जिल्लामा यही फागुनको अन्तिम साताबाट तालिम हुँदैछ।
सामान्य कागजका रुपमा मात्र रहेको खोप कार्ड च्यातिने, हराउने र जनत नहुने भएपछि त्यसको व्यवस्थापन गर्न आर्थिक वर्ष ०७३/०७४ मा प्लास्टिकको कभर भएको खोप कार्डको नमुना प्रयोगमा ल्याउने कार्यक्रम बनाइएको थियो।
खोप कार्ड बालबालिकालाई स्कुल भर्ना गर्ने बेलादेखि भविष्यमा विदेश जाने बेलासम्म आवश्यक परिरहन्छ। परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत बसन्त श्रेष्ठले खोप कार्डको महत्व पछिसम्म पनि रहने बताए ।
उनले भने, ‘खोप कार्डले बच्चाले पूर्ण खोप पाए–नपाएको रेकर्ड राख्नुका साथै भविष्यमा उच्च शिक्षा वा अरु कुनै प्रयोजनका लागि विदेश जानुपर्दा समेत उक्त कार्ड आवश्यक पर्छ।’ भविष्यमा खोपसम्बन्धी योजना कार्यक्रम बनाउन पनि आवश्यक छ।
नेपालमा धेरै आमालाई बच्चाको खोप कार्ड र त्यसको महत्वबारे जानकारी नभएको स्वास्थ्यकर्मीको भनाइ छ।
खोप अधिकृत श्रेष्ठले भने, ‘धेरै कम आमाले मात्र बच्चाको खोप कार्ड राख्नुभएको छ, पहिलेको कार्ड बनेको कागज निकै कमजोर र सजिलैसँग च्यातिने, फाट्ने भएकोले सुरक्षित राख्न चुनौती भएको हो।’
परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार नेपालका ५० प्रतिशतभन्दा कमसँग मात्र खोप कार्ड रहेको छ।
जनघनत्व बढी भएका स्थानमा मानिसको आउने–जाने क्रम धेरै हुने र कामकाजी मानिसहरू बसोबास गर्ने भएकाले बच्चालाई उमेर अनुसारका सबै खोप लगाउन छुटाउने गरेको बाल स्वास्थ्यसम्बन्धी अध्ययनले देखाएको छ।
खोप अधिकृत श्रेष्ठले शिक्षित र जाने बुझेका मानिसकै छोराछोरी खोपको पहुँचबाट छुटिरहेको जानकारी दिए।
‘महानगर लगायत बढी जनघनत्व भएका ठाउँका बालबालिका खोपको पहुँचबाट छुटेको पाइएपछि महाशाखाले एक वर्षअघि यस्ता ठाउँका लागि छुट्टै कार्यक्रम बनाएर काम गरिरहेको छ,’ उनले भने।
कार्डको व्यवस्थापन कसरी गर्ने?
– बच्चालाई हरेक पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा खोप लगाउन जाँदा बाल स्वास्थ्य कार्ड अनिवार्य लिएर जानुपर्छ।
– बालस्वास्थ्य कार्डले बच्चाले सबै खोप पाए–नपाएको यकिन गर्ने भएकाले यसलाई सुरक्षित राख्नुपर्छ।
– स्कुल भर्ना गर्दा खोप कार्ड आवश्यक पर्ने भएकोले यो कार्डलाई जनत गरी राख्नुपर्छ।
– बच्चा भविष्यमा विदेश जान चाहेमा पनि बाल स्वास्थ्य कार्ड आवश्यक पर्ने हुनाले सो कार्ड जतन गरी राख्नुपर्छ।
– बाल स्वास्थ्य कार्डलाई सफा, सुक्खा ठाउँमा राख्नुपर्छ। यसलाई आगो, पानी घाम, ओस र किराबाट बचाउनुका साथै बच्चाको पहुँचबाट टाढा राख्नुपर्छ।