काठमाडौं– कर्मचारी समायोजनका सम्बन्धमा सरकारी चिकित्सकहरुले गरेको आन्दोलनप्रति नेपाल चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ। संघका महासचिव डा लोचन कार्कीले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी चिकित्सकको आन्दोलनको समर्थन गरेका हुन्।
संघले आफ्ना सबै सदस्यलाई आन्दोलनका कार्यक्रम सफल बनाउन आग्रह समेत गरेको छ।
'हालको समायोजन प्रक्रियाप्रति पटक–पटक ध्यानाकर्षण गराउँदा समेत नेपाल सरकारले कुनै चाँसो नदेखाएकोमा संघ गम्भीर आपत्ति प्रकट गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
संघीयताको भावना र मर्मबमोजिम स्थानीय तथा प्रदेश सरकारलाई क्षमतावान बनाउन र चिकित्सा क्षेत्रलाई अझ बलियो तुल्याउन सम्पूर्ण चिकित्सकहरु प्रतिबद्ध रहेको जनाउँदै संघले स्वास्थ्य क्षेत्र ज्यादै संवेदनशील र जटिल भएको एवं चिकित्सकीय पेशालाई समय सापेक्ष अध्ययन गरिराख्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
वृत्ति विकासका विभिन्न गतिविधिमा निरन्तर समावेश हुनुपर्ने परिस्थितिलाई ध्यानमा राख्दै हाल नेपाल सरकार अन्तर्गतका आठौं र सोभन्दा माथिका तहमा कार्यरत चिकित्सकहरुलाई संघमा पुल दरबन्दीको सिर्जना गरी समायोजन प्रक्रिया अगाडि बढाउन संघले सरकार समक्ष ध्यानाकर्षण समेत गराएको छ।
साथै सरकारी सेवामा कार्यरत सम्पूर्ण चिकित्सकहरुले स्वास्थ्य सेवा बहिष्कार गर्न बाध्य हुने परिस्थितिको सिर्जना नगर्न तथा विद्यमान अवस्थाका कारण कुनै पनि चिकित्सकलाई सरकारी सेवामा प्रवेश गर्न बन्देज लगाउने अवस्था ननिम्त्याउन समेत नेपाल चिकित्सक संघले नेपाल सरकार समक्ष अनुरोध गरेको छ।