भक्तपुर– खानेपानीमन्त्री वीना मगरले भक्तपुर क्यान्सर अस्पतालमा सोमबार आफ्नो नियमित स्वास्थ्य जाँच गराएकी छन् ।
दुई सहयोगीको साथमा आफ्नो निजी गाडीमा अस्पताल पुगेकी उनको स्वास्थ्य जाँच अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ नेतृत्वको टोलीले गरेको थियो।
अस्पतालका मेडिकल डाइरेक्टर प्रो डा ऋषिकेषनारायण श्रेष्ठले मन्त्री मगरले नियमित स्वास्थ्य जाँचसँगै पाठेघर र स्तनको समेत परीक्षण गराएको जानकारी दिए।
उनका अनुसार मन्त्री मगरको नियमित स्वास्थ्य जाँचको लागि रगत लिइएको छ। त्यस्तै अल्ट्रासाउन्डसमेत गराएको उनले बताए।
‘खानेपानी मन्त्रीज्यू आफ्नो नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल आउनुभएको हो’, मेडिकल डाइरेक्टर प्रो डा श्रेष्ठले भनिन्, ‘उहाँले धेरै पहिले अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउने बताउनुभएको थियो। आज फुर्सद मिलाएर आउनुभयो।’
नियमित स्वास्थ्य परीक्षणको पूर्ण विवरण दुई–तीन दिनमा आउने उनले जानकारी दिए।
मन्त्री मगर गएको पुस २९ गते अस्पताल पुगेकी थिइन्। उक्त दिन उनले तेस्रो क्यान्सर सर्भाइभरहरुको भेलालाई सम्बोधन गर्नुका साथै अस्पतालमा निर्मित शुद्ध खानेपानी प्लान्टको उद्घाटन गरेकी थिइन्।
मन्त्री तथा उच्चपदस्थ व्यक्तिहरु सामान्य बिरामी हुँदा पनि जँचाउन विदेश जाने गरेको अवस्थामा खानेपानी मन्त्री मगरले स्वदेशमै आफ्नो नियमित स्वास्थ्य जाँच गराउने सकारात्मक भएको अस्पतालका मेडिकल डाइरेक्टर प्रो डा श्रेष्ठ बताउँछन्।
मन्त्री मगरले जस्तै अन्य मन्त्री तथा उच्चपदस्थ व्यक्तित्वहरुले स्वदेशमै आफ्नो स्वास्थ्य परीक्षण र उपचार गर्ने गरे नेपाली चिकित्सकहरुको आत्मविश्वास बढ्ने उनको भनाइ थियो।
‘मन्त्री र नेताहरुले स्वदेशमै स्वास्थ्य परीक्षण र उपचार गरे नेपाली चिकित्सकहरुको आत्मविश्वास बढ्नेछ’, उनले भने, ‘यसले सर्वसाधारणलाई पनि स्वदेशमै उपचार गर्न उत्साहित र उत्प्रेरित गर्ने निश्चित छ।’
उनले आफ्नो नियमित स्वास्थ्य परीक्षणको लागि भक्तपुर क्यान्सर अस्पताललाई चुनेकोमा खानेपानी मन्त्री मगरप्रति आभार एवं धन्यवादसमेत ज्ञापन गरे।
उक्त अवसरमा प्रो डा श्रेष्ठले मन्त्री मगरले अस्पतालको उपचार सेवाबारे ब्रिफिङसमेत गरेका थिए।