रुपन्देही– कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकले गरेको हड्तालका कारण प्रदेश ५ का अस्पतालहरुको सेवा ठप्प भएको छ। सरकारी चिकित्सकले आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
हड्तालका कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको ओपिडी सेवा ठप्प भएको छ। सो अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन्।
यस्तै रुपन्देहीको भीम अस्पताल पनि आज सुनसान छ। यसैगरी पाल्पा जिल्ला अस्पताल, गुल्मी जिल्ला अस्पताल, अर्घाखाँची जिल्ला अस्पताल, नवलपरासी जिल्ला अस्पताल, प्युठान जिल्ला अस्पताल, रुकुम जिल्ला अस्पताल, रोल्पा जिल्ला अस्पताल र दाङ जिल्ला अस्पतालमा पनि सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
चिकित्सकको आन्दोलनका कारण प्रदेश ५ मा ४ हजारभन्दा बढी बिरामी सेवाबाट बन्चित भएका छन्। यो आन्दोलन सरकारी चिकित्सक संघ (गोदान) को अगुवाइमा भइरहेको छ।
संघीयता कार्यान्वयनका क्रममा समायोजन गर्दा भेदभाव गरिएको भन्दै गोदानले सुरुवातदेखि नै आन्दोलन गर्दै आएको छ। आफ्ना माग पूरा नभए सबै सरकारी डाक्टरले सामूहिक राजिनामा दिने बताएका छन्।