काठमाडौं— ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मृतकहरुको ‘एन्टीमर्टम’ गरिने भएको छ । ‘एन्टिमर्टम’ प्रक्रिया पोष्टमार्टम भन्दा विस्तृत भएकाले आफन्तलाई शव बुझाउन केही समय बढी लाग्ने भएको छ।
शिक्षण अस्पतालस्थित फरेन्सिक विभागका प्रमुख फरेन्सिक विशेषज्ञ प्राडा हरिहर वस्ती नेतृत्वको चिकित्सकीय टोलीले ‘एन्टीमर्टम’ गर्नेछ।
फरेन्सिक विशेषज्ञ डा वस्तीले यो विस्तृतमा जाँच गरिने प्रक्रिया भएकाले बढी समय लाग्ने बताए।
उनले भने, ‘यो पोष्टमार्टमभन्दा पनि यो विस्तृतमा गर्नुपर्छ । यो सनाखत पनि गर्नुपर्छ । त्यसैले समय धेरै लाग्न सक्छ।’
सवैको गर्दा बेलुकीसम्मको समय लाग्न सक्ने उनले बताए । उनले एन्टीमोर्टम गरी सकेर मात्र शव परिवारलाई बुझाउने बताए। केहीको शव समेत नचिनिने अवस्थामा रहेकाले थप समय लाग्न सक्ने बताइएको छ।
बुधबार भएको उक्त दुर्घटनामा मृत्यु भएका सातै जनाको शव आज काठमाडौंको शिक्षण अस्पताल पुर्याइएको छ।