काठमाडौं– यौन तथा प्रजनन् स्वास्थ्यमा महिला स्वयंको निर्णय हुनुपर्छ भन्ने मर्म बोेकेको विश्वव्यापी अभियान ‘सी डिसाइड्स’ शुक्रबारबाट नेपालमा सुरु हुने भएको छ।
सन् २०१७ मा सुरु भएको यो अभियानले महिलाको मानव अधिकारका लागि महिलाको शरीरमा उनकै निर्णय हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेको छ।
कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘सी डिसाइड्स’का रणनीतिक सल्लाहकार रोविन गोर्नाले सन् १९९४ इजिप्टको कायरोमा जनसंख्या तथा विकासका लागि अन्तर्राष्ट्रिय सम्मलेन भएको २५ वर्ष पूरा भएको अवसरमा एसिया प्यासेफिकका २५ वर्षका २५ जना युवायुवती नेपाल आएको बताइन्।
उनले भनिन्, ‘भोलि सुरु हुने यो कार्यक्रममा ती अभियन्ताहरुले यौन तथा प्रजनन् अधिकारका लागि कसरी निर्णय लिने, कसरी अगाडि बढ्ने भन्ने अनुभव साटासाट गर्नेछन् र आगामी २५ वर्षका लागि के–के काम गर्ने भन्ने दुष्टिकोण प्रस्तुत गर्नेछन्।’
‘सी डिसाइड्स’ अध्यक्ष टिखाला इट्येले महिलाको शरीरमा महिलालाई नै निर्णय लिन समक्ष बनाउन पुरुष, नागरिक समाज सबैको सहकार्य हुनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘हामी भिन्न भौगोलिक, सांस्कृतिक, सामाजिक परम्परा भएका देशका हामी जम्मा भएका छौँ तर हाम्रो उद्देश्य एउटै सन्देश दिन हो, त्यो हो ‘सी डिसाइड्स’ अर्थात् महिलाको शरीरमा उनकै निर्णय।’
‘सी डिसाइड्स’ की प्राविधिक सल्लाहकार नेहाले एसियाले धेरै खाले अधिकारका आन्दोलन देखेको उल्लेख गर्दै अझै पनि महिलाका यौन तथा प्रजनन् अधिकारका लागि थुप्रै नीति–नियम परिवर्तन गनुपर्ने आवश्यता रहेको बताइन्।
उनले भनिन्, ‘यति धेरै परिवर्तन भए तर महिलाको निर्णय लिनसक्ने अवस्था उस्तै छ, अहिले पनि महिलाले कहाँ पढ्ने, के बन्ने, कहाँ हाँस्नेदेखि कस्तो जीवनसाथी चुन्ने, जन्मान्तर कति गर्ने जस्ता निर्णय अरुले गरिदिने अवस्था छ, अब यी सबै कुराको निर्णय हामी आफैंले गर्नुपर्छ भन्ने कुरामा ऐक्यवद्ध बनौँ।’
‘सी डिसाइड्स’ अभियानको शुक्रबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गर्ने छन्।