काठमाडौं– अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ। उनी शनिबार डिस्चार्ज हुने भएका छन्।
बिहीबार एक्कासि अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। डा यादवदेव भट्टको टोलीले उनको उपचार गरिरहेको छ।
मन्त्री पुनको मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनको सिसियूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। उनलाई औषधि चलाइएको र अहिले अवस्था सुधारोन्मुख रहेकाले शनिबार डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ।
चिकित्सकीय भाषामा मन्त्री पुनलाई भएको समस्यालाई एट्रियल फिब्रिलेसन भनिन्छ।
मन्त्री पुन बेहोस भएर लडेपछि उपचारका लागि नर्भिक लगिएको थियो। उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पताल पुगेका थिए।