चितवन- उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले नेपाल औषधिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन्। चितवनमा आज शुक्रबारबाट सुरु भएको ७ औं नेपाल फर्मा तथा हेल्थ एक्स्पोको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली औषधि कम्पनीको विकास र विस्तार गर्दै आत्मनिर्भर हुनुपर्ने बताएका हुन्।
'नेपाली उद्योगको विकास गर्न सरकार तयार छ,' उनले भने 'औषधि उद्योग आत्मनिर्भर हुनुपर्छ र यसकालागि सहयोग गर्न हामी तयार छौं।'
उनले नेपाली उद्योगीलाई आत्मनिर्भरतर्फ जान सरकारले के के गर्नुपर्ने हो त्यो विषयमा छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको पनि बताए। उनले उद्योगीलाई कार्यक्रमबाटै छलफलका लागि आह्वान समेत गरे।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधिको प्रवर्धनका लागि सरकारले कदम चालिरहेको जानकारी दिए। उनले नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने औषधिको आयतमा कडाई गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखिएको पनि जानकारी दिए।
पाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधिमा सरकारको नीति नै परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले नेपाली उद्योगप्रति सरकारको अधिनायकवादी सोच रहेको समेत आरोप लगाए।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले तत्काले पहिलो चरणमा एक सय प्रकारका औषधिको आयातमा कडाई गर्नुपर्नेमा जोड दिए। उनले सरकारले आत्मनिर्भर औषधिलाई प्राथमिकतामा राख्दै विदेशबाट आउने यस्ता औषधिको आयत रोक्नुपर्ने बताए।
औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले सरकारले नेपाली उद्योगको विकास विस्तारमा सहयोग गर्ने हो भने ५ वर्षभित्र नेपाल औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुने बताए। उनले भारतमा औषधि उद्योगलाई ३५ भन्दा बढी शिर्षकमा सहयोग हुने उदाहरण दिँदै नेपालमा पनि सरकारले उद्योगलाई साथ र सहयोग दिन आग्रह गरे।
भरतपुरको चितवन प्रदर्शन केन्द्रमा सुरु भएको एक्सपो आइतबारसम्म चल्ने छ। एक्स्पोमा स्वदेश र विदेशका गरी २ सय स्टल रहेको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लब अधिकारीले जानकारी दिए।
