नेपालगन्ज- बाँकेको खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालले क्यान्सर रोगको पहिचान गर्दै उपचारका लागि निर्देश गर्ने सिटी सिमुलेटर उपकरण र त्यसका लागि आवश्यक पर्ने अन्य सहयोगी सामग्री खरिद प्रक्रियामा मिलेमतो गर्दै अनियमितता गर्न लागिएको आरोप लागेको छ।
अस्पतालले मिलेमतोमा एउटा कम्पनीलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको र सिटी सिमुलेटरसँगै त्यसका लागि आवश्यक पर्ने अन्य सहयोग सामग्रीको टेण्डर पनि फरक फरक गरेर अनियमितता गर्न लागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेको छ।
उजुरी पत्रमा अस्पतालले उक्त उपकरण र त्यसका आवश्यक सामग्रीहरुको टेण्डर एउटै प्याकेजमा गर्नुपर्नेमा मिलेमतोमा आफू निकटका मानिसलाई मिल्ने गरी स्पेसिफिकेसन बनाउँदै छुट्टा छुट्टै टेण्डर गरेको, स्पेसिफिकेसनमा सिमेन्स कम्पनीलाई मात्र मिल्ने गरी विवरण र शर्तहरु राखिएको, ७ करोडको उपकरण र त्यसका लागि चाहिने अन्य सामग्रीका लागि एक करोड ७० लाखमा छुट्टै टेण्डर गरिएको, अन्य देश तथा नेपालमा नै यस्तो उपकरण खरिद हुँदा उपकरण र त्यसका लागि आवश्यक पर्ने सहयोग सामग्री एकै प्याकेजमा खरिद गरिन्छ तर, क्यान्सर अस्पतालले मिलेमतोमा आफू निकटका लागि टेण्डर दिन चलखेल गरेको लगायतका आरोप लगाइएको छ।
अस्पतालले उक्त उपकरणसहित ब्रेकिथेरापी र म्यामोग्राम उपकरण पनि खरिदका लागि गत माघ २३ मा टेण्डर आह्वान गरेको थियो। उक्त आह्वानपछि सिटी सिमुलेटरका लागि सिमेन्स, फिलिप्स, तोसिबा र जिइ नामक कम्पनीले टेण्डरको प्रक्रियामा भाग लिएका थिए।
अस्पताल उपकरणका लागि बनाएको स्पेसिफिकेसनमा अन्य कम्पनीसँग नमिल्ने र सिमेन्ससँग मात्र मिल्ने गरी बनाइएको भन्दै मन्त्रालयमा उजुरी परेको हो। उक्त उजुरीका विषयमा मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालय स्रोत बताउँछ।
अस्पतालका निर्देशक डा विश्वराज शर्माले सबै प्रक्रिया पुरा गरेर नै टेण्डरको आह्वान गरेको बताए। उनले उपकरण खरिदको टेण्डर अझै खुलिनसकेको र कानुन अनुसार नै काम भएको दाबी गरे।