फाइल तस्बिर
काठमाडाैं- सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना अघि सारेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अस्वाभाविक रुपमा हुँदै आएको मृत्युलाई रोक्न पनि सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए।
शुक्रबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बबरमहलमा सारिएको नयाँ कार्यालयमा कामको शुभारम्भ गर्दै उनले वैदेशिक रोजगारमा गएकाहरुमा बढी मृगाैलाको समस्या देखिएको उल्लेख गर्दै त्यो समस्या आउन नदिन पनि सरकारले गन्तव्य मुलुकमै नेपाली चिकित्सकहरुको टोली आवश्यकताअनुसार पठाएर स्वास्थ्य परिक्षण गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे।
मन्त्री विष्टले वैदेशिक रोजगारीकै क्रममा ज्यान गएकाहरुको परिवारलाई सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्था पनि गरिएको बताए।
नयाँ बानेश्वरमा रहेको बोर्डको कार्यालय सेवाग्राहीलाई सहज सेवा पुर्याउने उद्देश्यका साथ बबरमहलमा सारिएको पनि मन्त्री विष्टले स्पष्ट पारे।
उनले सरकारले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सक्दो प्रयास गरिरहेको दाबी पनि गरे।