जनकपुर- जनकपुरधामको बाह्र बिघा मैदानमा जीवन शक्ति मेला चलिरहेको थियो। ६५ वर्षिया मनटुटिया देवीलाई मेलासँग चलिरहेको नि:शुल्क स्वास्थ्य शिविरमा आफ्नो पनि स्वास्थ्य जाँच गराउने इच्छा जाग्यो। उनी शिविर भएको स्थानमा पुगिन्।
नि:शुल्क मधुमेह परीक्षण भइरहेको जानकारी पाएपछि उनले पनि परीक्षण गराइन्। ६५ वर्षको उमेरमा उनले पहिलो फटक मधुमेहको जाँच गराएकी थिइन्। जाँचका क्रममा पत्ता लाग्यो उनको रगतमा चिनीको मात्रा बढेको रहेछ।
परीक्षणपछि उनले भनिन् 'मलाई मधुमेह भएको थाहा थिएन तर आज जाँच गराउँदा चिनीको मात्रा बढेको रहेछ। मलाई अच्चम लाग्यो।यो रोग लागे पछि मन परेको खाना खान नपाउने भएँ जस्तो लागेको थियो। तर हैन रहेछ। मेलामै आएका पोषण विज्ञले सन्तुलित आहार र दैनिक व्यायाम गर्दा यो रोक्न र नियन्त्रण गर्न सकिने वताए। अब म उहाँले भने अनुसार नै गर्छु।'
शिविरका क्रममा भेटिएका मनटुटिया देवीलाई मात्र हैन धेरैमा चिनी रोग वा डाइबेटिज भनिने मधुमेहका बारेमा अनेकन भ्रम पाइएको थियो।मधुमेह सम्बन्धी गलत धारणा हटाउँदै चेतना बढाउन नै शिविरको आयोजना गरिएको थियो।
मेलामा ८ सय भन्दा बढिले नि: शुल्क मधुमेह परिक्षण गराएको आयोजकले जनाएको छ।
मेला वेलकम ट्रस्टको सहयोगमा जनकपुर नारी विकास केन्द्र, विश्वविद्यालय कलेज लन्दन इन्स्टीट्यूट अफ ग्लोबल हेल्थ, हर्ड इन्टरनेशनल, मिडिया फर डेभलपमेन्ट, साईट नेपाल र नेपाल डाइटिसियन एसोसिएशनको सहकार्यमा भएको थियो।


