डा दिवाकार शर्मा मुटुरोग विशेषज्ञ हुन्। उनी सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन्। व्यस्त समयतालिका हुँदाहुँदै पनि पुस्तक पढ्न रुचाउँछन् उनी। डा शर्मासँग स्वास्थ्यखबरकी बुनु थारूले गरेको पुस्तक वार्ता :
१) पुस्तक पढ्न कत्तिको रुचि लाग्छ?
मलाई पुस्तक पढ्न मनपर्छ। पुस्तक पढ्नु मेरो सौख हो। बाल्यकालमा कथा, कविताका धेरै पुस्तक पढ्थेँ र कहिलेकाँही कोर्थे पनि। मेरा कथा, कविताहरू प्रकाशित पनि भएका छन्। मेरा शिक्षक र अभिभावकले मलाई पुस्तक पढ्न निकै हौस्याउनुहुन्थ्यो। शायद एमबिबिएस अध्ययन गर्दाताका मैले धेरै पुस्तक पढेँ होला।
२) कस्ता पुस्तक पढ्न बढी रुचाउनुहुन्छ?
म आख्यान र गैरआख्यान दुवै किसिमका किताब पढ्न रुचाउँछु। कथा, उपन्यास, दर्शन, मेडिकलसम्बन्धी नयाँ खोज र अनुसन्धानका पुस्तक पढ्न मन पराउँछु।
३) घरमा कति पुस्तक संकलनमा होलान्?
मसँग मेडिकलसम्बन्धी र उपन्यास, दर्शनका धेरै पुस्तक छन्। आख्यानसम्बन्धी पुस्तक २०० जति र मेडिकलसम्बन्धी ८० वटा जति संकलनमा छन् होला।
४) अहिलेसम्म मनपरेका पुस्तकहरु कुन–कुन छन्?
मलाई स्टेफेन हकिङ्सका सबै पुस्तकहरु मन पर्छन्। उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’, युभल नोहा हरारीको ‘सेपियन्सः अ बिफ्र हिस्ट्री अफ म्यानकाइन्ड’, सतगुरुको ‘इनर इन्जिनियरिङ’, लि क्वान युको ‘फ्रम थर्ड वल्र्ड टु फस्र्ट’, दलाई लामाको ‘आर्ट अफ ह्याप्पिनेस’, सुधीर शर्माको ‘प्रयोगशाला’, नारायण ढकाल र ओशोका लेख तथा पुस्तक पुस्तकहरु मलाई मन पर्छन्।
५) मनपर्ने लेखकहरु?
मलाई नारायण ढकाल, स्टेफेन हकिङ्स, ओशो, सौरभ र दलाई लामाका लेख बढी मन पर्छन्।
६) कुन भाषाका पुस्तक बढी पढ्नुहुन्छ?
म अंग्रेजी भाषाका पुस्तक बढी पढ्छु। यसका साथै नेपाली भाषमा लेखिएका पुस्तक पनि पढ्ने गर्छु। हिन्दी पुस्तक, पत्रिकाहरु पहिला खुब पढियो। भाषाले भन्दा पनि विषयवस्तुले तान्छ मलाई।
७) अहिलेसम्म प्रभाव पारेको पुस्तक?
मलाई दलाई लामाका पुस्तकले बढी प्रभाव पार्छ। उनको पुस्तक ‘आर्ट अफ ह्याप्पिनेस’ले मलाई विशेष प्रभाव पारेको छ। यस किताबले खुसी खोज्न अन्त जानुपर्दैन, आफँैभित्र पाइन्छ भन्ने कुराको बोध गराउँछ।
८) अनि लेखन चाहिँ नि?
पहिला लेखिन्थ्यो तर अहिले लेख्न समय हुँदैन। लेख्नलाई सोधखोज गर्नुप¥यो त्यसको लागि समय चाहिन्छ।
९) तपाईंको विचारमा पुस्तकले मानिसको जीवनमा कस्तो परिवर्तन ल्याउन सक्छ? पुस्तक किन पढ्नुपर्छ?
पुस्तक पढ्दा मलाई आनन्द आउँछ। पुस्तकले मान्छेलाई सबैकुरा बुझ्ने र देख्ने बनाउँछ। पुस्तकले मानिसलाई भद्र तथा परिपक्व बनाउँछ। यति मात्र होइन, मानिसको व्यक्तित्वमा सकारात्मक प्रेरणा पनि थपिदिन्छ। राम्रो पुस्तकले व्यक्तित्व विकासदेखि आफू तथा समाज र जीवनप्रतिको बुझाइ फराकिलो बनाइदिन्छ। राम्रा पुस्तकले मानिसलाई सन्तुष्टि, र शान्ति दिन्छ।
१०) कतिबेला पढ्नुहुन्छ?
पढ्नलाई समय मिलाउन निकै गाह्रो हुन्छ। फुर्सद पाउने बित्तिकै पुस्तक पाएँ भने घोत्लिहाल्छु। अलिकति ढिलो सुत्ने हुनाले प्रायः म राति पढ्ने गर्छु। १० देखि १२ बजेसम्म किताब पढ्न छुट्याउने गरेको छु। हरेक दिन म समय मिलाएर कम्तीमा आधा घन्टा जति चाहिँ पढेर बिताउँछु। कहिलेकाहीँ पुस्तक मन परेर मध्यरातसम्म बसेको पनि याद छ। कुनै पुस्तक एकै बसाइमा सिध्याएको पनि सम्झिन्छु। अहिले त मोबाइलमै इ–बुक नै पढ्ने गरेको छु।
११) कसरी राम्रो पुस्तक छनोट गर्नुहुन्छ?
म विशेषगरी समीक्षा पढेर तथा आफूलाई मन परेका राम्रा लेखक हेरेर पनि पुस्तक छनोट गर्छु। अरुले सिफारिस गरेका पुस्तक पनि पढ्ने गरेको छु। विदेश बाहिर जाँदा नयाँ पुस्तक खोजिराखेको हुन्छु।
१२) हालसाल के पढ्दै हुनुहुन्छ?
अहिले म युभल नोहा हरारीको ‘सेपियन्सः अ बिफ्र हिस्ट्री अफ म्यानकाइन्ड’ पढ्दैछु। अन्तिमतिर पुगेको छ। यो पुस्तक मलाई एकदम मन परेको छ।