अति काम, न्यून तलब। धेरै गाली, थोरै जस। बेटुंगो ड्युटी, कामको जोखिम।
नर्सिङ पेसा बाहिरबाट हेर्दा जति सजिलो र आकर्षक देखिन्छ, त्यति सजिलो पक्कै पनि छैन। ज्यानलाई धरापमा राखेर काम गर्नुपर्ने बाध्यता छ। तर पनि बिरामी, बिरामीका आफन्त, डाक्टर, अस्पताल प्रशासन सबैको आँखाको तारो बनिरहेका छन्, नर्सहरु।
एक जना नर्सले ३०-४० बिरामी हेर्नुपर्ने अवस्था छ। त्यसमा पनि कुनै बिरामी तथा बिरामीका आफन्तले बोलाउँदा तुरुन्तै पुगेन भने नर्सहरुले अनेक आरोप खेप्नुपर्छ।
डाक्टर समयमा आएनन्, नर्सलाई गाली। ल्याबले रिपोर्ट ढिलाइ गर्यो, नर्सलाई तनाव। अस्पताल महँगो भयो, ट्वाइलेट सफा भएन; आक्रोशजति नर्सलाई।
तपाईं नै भन्नुस् न, एक जना नर्सले कति काम गर्न सक्छ?
अझ नर्स छुच्ची हुन्छन्, घमन्डी हुन्छन्, नर्सले गर्दा बिरामी तलमाथि भयो भनेर भनेर बिरामीका आफन्त कराउन अघि सर्छन्। जति नै मन-वचन-कर्म लगाई लगनशीलतासाथ काम गरे पनि नर्सलाई न त बिरामीले बुझ्न सके, न तिनका आफन्तले। अस्पताल प्रशासनले समेत नर्सको समस्या बुझ्न नसक्दा निकै पीडा महसुस हुन्छ।
बिरामीको पीडा सुन्ने, सधैं अरुको सेवामा खट्ने नर्सहरु वास्तवमा खुसी छन् कि छैनन्? नर्सहरुको समस्या के छ भनेर सोधिदिने न कुनै निकाय निस्किए, न त सरकारले नै चासो राख्यो। नर्सहरु सधैं आर्थिक, शारीरिक रुपमा शोषित छन्। उनीहरुको श्रम शोषण गरिएको छ। चरम मानसिक यातना खेपिरहेका छन्। धेरै जोखिम मोलेर काम गर्नुपर्ने हुन्छ। तर, सरकारी निकायमा होस् या निजी क्षेत्रमा, जोखिम भत्ताको कार्यान्वयन छैन।
आफ्नो सानो बच्चा घरमा छोडेर '६ महिनासम्म आमाको दूध मात्र खुवाउनु' भन्दै सुत्केरीलाई दिव्य ज्ञान दिँदै हिँड्ने नर्स महान् कि पीडित?
नेपाल नर्सिङ एसोसिएसनका अनुसार नेपालमा हाल करिब ८७ हजार नर्स छन्। यो संख्या बढ्ने क्रममा छ। बढ्दो जनशक्ति र घट्दो रोजगारीको अवसर अहिलेको चरम समस्या बनिरहेको छ। जसले गर्दा आफ्नो क्षमता र दक्षता हुँदाहुदै पनि हाम्रो कार्यक्षमताको उचित मूल्यांकन हुन सकेको छैन। जागिरका लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने वा सोर्सफोर्स नै लगाउनुपर्ने बाध्यता यसले सिर्जना गरेको छ।
भइरहेका नर्सलाई राज्यले उचित रोजगारी दिन नसक्नु र सेवामा आबद्धलाई उचित सुविधा दिन नसक्नु भनेको राज्यको कमजोरी हो।
मनलाग्दी तलब तोकेर काम गर्न दबाब दिने र त्यही तलबमा काम नगरे अरु जत्ति पनि काम गर्ने नर्स पाइन्छ भनेर धम्की दिनेहरू पनि कम छैनन्। यो अवस्था किन आयो? राज्यले सोच्ने कहिले?
सही कुराका लागि यहाँ आन्दोलन गर्नुपर्छ, न्यायका लागि सत्याग्रहले मात्र नहुँदो रहेछ। आफ्नो अधिकारको माग गर्दा केही दिनअघि मात्रै नर्सहरुलाई हिरासतमा कोचिएको घटना सेलाइसकेको छैन।
नर्सको हकहितका लागि खोलिएको नर्सिङ एसोसिएसन अफ नेपालले पनि नर्सको पक्षमा वकालत गरेको देखिँदैन। दलको झोला बोकेर राजनीतिक आँखाले नर्सलाइ हेरिने गरिन्छ भन्ने आरोपबाट नर्सिङ एसोसिएसन अछुतो हुन भने सकेको छैन। एसोसिएसनले राजनीतिबाट टाढा रहेर नर्सहरुको समस्या सम्बोधनमा पहल गर्नुपर्ने हो तर कुनै ठोस पहल हुन सकेको देखिन्न।
हरेक वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २/२ चोटि नर्सिङ दिवस मनाइन्छ। तर, कार्यक्रम र भाषणमा सीमित हुनुको अलावा खासै अर्थपूर्ण काम हुन सकेको छैन। जुन उद्देश्य र हर्षका साथ अभिभावकले आफ्ना छोरीलाई नर्सिङ पढाउँछन्, त्यो आशा र भरोसा नटुटोस्। पीडित नर्स दिदी-बहिनीहरुले न्याय पाऊन्। कुनै पनि नर्स बेरोजगार बस्नु नपरोस्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको शुभकामना।