ठूलो र अग्लो भवनको छैठौं तथा सातौं तलामा जानुपर्दा अधिकांश मानिसले लिफ्ट प्रयोग गर्छन्। तर त्रिपुरेश्वरस्थित सिई कन्स्ट्रक्सनका अध्यक्ष तथा कार्यकारी निर्देशक विजयराज भण्डारी भने कहिल्यै पनि लिफ्ट प्रयोग गर्दैनन्। उनी हरेक दिन छैठौं तलामा रहेको कार्यालयमा भर्याङ चढेर नै आउजाउ गर्छन्।
स्वास्थ्यप्रतिको चेतनाका कारण नै हो उनले भ¥याङ चढ्न रुचाएका। भन्छन्, ‘मलाई हिँड्न खुसी लाग्छ। किनकी यसले मेरो स्वास्थ्य राम्रो हुन्छ। त्यही भएर मैले अफिसमा पनि भनेको छु, जुन दिन म लिफ्ट चढ्छु त्यो दिन अफिसका लागि अर्को अध्यक्ष खोज्दा हुन्छ।’
भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणमा सक्रिय छ, उनको कार्यालय। जसरी उनी गुणस्तरीय र बलियो भवन निर्माणमा ध्यान दिन्छन्, त्यसैगरी आफ्नो शरीर पनि बलियो र स्वस्थ बनाउन ध्यान दिइरहेका छन्। उनी आफ्नो मात्र होइन, अरुको स्वास्थ्यका विषयमा पनि त्यत्तिकै ध्यान दिन्छन्। त्यसैले त कर्पोरेट क्षेत्रमा उनलाई योग गुरुका रुपमा समेत धेरैले चिन्छन्।
कार्यालयमा उनी अरुलाई पनि लिफ्टभन्दा भर्याङबाट नै आउजाउ गर्न र योग तथा शारीरिक अभ्यास गर्न सुझाउँछन्। स्वस्थ जीवनशैलीका बारेमा जानकारी दिन्छन्। यतिमात्र होइन, कार्यालयमा योग तथा ध्यानसमेत सिकाउँछन्। उनको कार्यालयमा योग तथा ध्यानका लागि छुट्टै हलको समेत व्यवस्था गरिएको छ। हप्ताको दुई दिन सोमबार र बिहीबार उनी कार्यालयमै ध्यान र योग सिकाउँछन्। शनिबार भने आफ्नो घरमा छिमेकीलाई सिकाउँछन्।
योग, ध्यान, शारीरीक कसरत र खानपिनमा ब्यालेन्स गर्न सक्यो भने रोगलाई जित्न सक्नुका साथै तनावबाट मुक्ति पाइन्छ र स्वस्थ जीवन जिउन सकिन्छ भन्ने कुरा उनले राम्रोसँग बुझेका छन्। त्यहीअनुसार आफुनो जीवनशैली बनाएका छन्।
मानिसको रोगको प्रमुख कारण नै तनाव र अस्वस्थ खानपिन हो भन्छन् उनी। त्यसकारण यी दुवै कुरालाई व्यवस्थापन गर्न सफल छन्।
‘तनाव भनेको आफूले बनाउने हो। त्यसकारण यसलाई आउनै नदिने प्रयत्नम लाग्न सक्यो भने जीवन स्वस्थ हुन्छ’, उनी भन्छन्, ‘त्यसकारण योग र ध्यानलाई सँगसँगै लगेर खानपानमा विशेष ध्यान दिइयो भने धेरै फाइदा हुन्छ।’
१० वर्षको उमेरदेखि योग
उनले योग गर्न थालेको ४९ वर्ष भइसकेको छ। १० वर्षको उमेरदेखि उनले निरन्तर योग गर्दै आएका छन्। ध्यान गर्न थालेको पनि १७ वर्षभन्दा बढी भइसकेको छ। बुबाको कारणले हो उनले योग गर्न सुरु गरेको। उनी सानैदेखि जिम्न्यास्टिक गर्थे।
त्यही समयमा महाराजगञ्जमा काशीराज नाम गरेका एक जनाले योग सेन्टर खोले। विजयराजका बुबालाई पनि योग सिक्न मन लाग्यो। उनले आफू मात्र होइन, छोरालाई पनि योग सिक्न लगे। जिम्न्यास्टिक गरिरहेकाले होला, विजयराजलाई योग सिक्न निकै सहज भयो। योगासनहरु सहज रुपमा गर्न सके। १० दिनको योग कक्षमा उनले धेरै कुरा सिके। त्यसपछि योगलाई हालसम्म निरन्तर जारी नै राखे।
‘योगाले शारीरिक रुपमा फिट हुन मद्दत गर्नुका साथै तनाव कम गर्छ,’ उनी भन्छन्, ‘अहिले योग मात्र होइन, शरीरको क्यालोरी घटाउन शारीरिक कसरत पनि गर्छु, हप्तामा एकदुई पटक ट्रेड मिलमा कुद्छु।’
सकारात्मक ऊर्जाका लागि ध्यान
ध्यानले मानिसमा सकारात्मक ऊर्जा प्रदान गर्ने उनी बताउँछन्। मानिसले सही तरिकाले ध्यान गर्यो भने उसको रिस कम भएर जाने, घृणा गर्ने बानी कम हुने, डर हट्ने तथा अरुको भलाइका लागि सोच्ने शक्तिमा वृद्धि हुने उनको बुझाइ छ। ‘ध्यानले मनलाई एकाग्र गर्छ र शरीरमा सकारात्मक ऊर्जा भरिदिन्छ,’ उनी भन्छन्, ‘जसले गर्दा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुन्छ। यसले अरुसँगको सम्बन्ध र कामको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्छ।’
दैनिक जीवनशैली
उनी हरेक दिन बिहान ४ देखि ५ बजेभित्र उठिसक्छन्। त्यसपछि ५ मिनेट ध्यान गर्छन्। बिहान खाली पेटमा ६ सय ४० मिलिलटिर पानी पिउँछन्। कोठाको तापक्रमअनुसारकै पानी पिउँछन्। बिहान खाली पेटमा यसरी पानी पिउनु स्वास्थ्यका लागि निकै लाभदायी हुने उनी बताउँछन्। यति मात्र होइन, उनी हरेक दिन बिहान अघिल्लो रात पानीमा भिजाएर राखेको मेथीसमेत खान्छन्। बिहानको नित्यकर्म सकेपछि उनी हरेक दिन १ घन्टा ध्यान गर्छन्। त्यसपछि २० मिनेटदेखि एक घन्टासम्म योग गर्छन्।
समयतालिकाअनुसार उनी चल्छन्। बिहान ८ बजेर १० मिनेटमा उनी घरबाट कार्यालय निस्कन्छन्। घरबाट निस्कने समयमा नै उनी अरुलाई राम्रो होस् भन्ने सकारात्मक सोच बोकेर निस्कन्छन्। बाटोमा कोही दुःखमा परेको भेटे भने सक्दो सहयोग गर्छन्।
भन्छन्, ‘आफूलाई लिनभन्दा पनि अरुलाई दिन सोच्यो र त्यहीअनुसार काम ग¥यो भने मनमा सन्तोष मिल्छ र शरीरमा सकारात्मक कुरा मात्र आउँछ। यसले तनावमाट सहजै मुक्ति पनि दिन्छ।’
ध्यान र योगसँगै बढेको सकारात्मक सोचका कारण उनी सधैँ अरुसँग नम्र र मन्द मुस्कानसहितको व्यवहार गर्छन्। विगतमा असाध्यै रिसाउने स्वभावका उनी पछिल्लो १५ वर्षदेखि कहिले पनि रिसाएका छैनन्। उनको कार्यालयमा १० वर्षदेखि काम गरिरहेका कर्मचारीले समेत उनी कहिले पनि रिसाएको देखेका छैनन्।
उनी ८ बजेर २५ मिनेटमा कार्यालयमा पुग्छन्। कार्यालयमा उनी सधैँ भ¥याङ नै प्रयोग गर्छन्। कार्यालय समयभन्दा अगाडि नै कार्यालयमा आइपुगेर काम सुरु गर्दा केही कुरा पनि छुट्दैन र काम राम्रो हुन्छ भन्ने उनको मान्यता छ। त्यही भएर उनी हरेक कुरा समयमा नै गर्छन्। समय तालिकाअनुसार नै चल्छन्। समयको व्यवस्थापन नगर्दा नै तनाव आउने र त्यसले धेरै समस्या उत्पन्न गर्ने उनको बुझाइ छ। समयलाई व्यवस्थापन गर्न जानेका कारण परिवारलाई समेत समय दिन पाएका छन् उनले।
उनी साकाहारी भोजन मात्र गर्छन्। शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिनलगायतका खानेकुरा सन्तुलन मिलाएर खान्छन्। उनी घरबाट नै सागपात, फलफूल तथा साकाहारी खाना ल्याउँछन्।
कार्यालयको काम र त्यससँग सम्बन्धित कामहरु सकेपछि उनी ९ बजेसम्म घरमा पुगिसक्छन्। घरमा पुगेपछि पनि उनी राति ध्यान गर्छन्। कहिलेकाहीँ कार्यालयको कामले घर जान ढिला हुने भयो भने उनी कार्यालयमा नै ध्यान गरेर घर जान्छन्।
कार्यालयभन्दा बाहिरको भेटघाट र कार्याक्रममा समेत उनी १५ मिनेट अगाडि नै पुग्छन्। सबैसँग भेटघाट र कुराकानी गरेपछि उनी बाहिर निस्कन्छन्। मदिरा पिउँदैनन्, धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्दैनन्।
स्वास्थ्यप्रतिको चेत, योग, ध्यान र स्वस्थ जीवनशैलीका कारण नै उनी आजसम्म अस्पताल भर्ना हुनुपर्ने गरी बिरामी परेका छैनन्। तर, एक पटक भिरमौरीको मह खाँदा भने उनी अस्पताल भर्ना हुनुपरेको थियो। ‘त्योबाहेक म अस्पताल भर्ना भएको छैन,’ उनले भने। त्यसैले स्वस्थ जीवनका लागि उनी आवश्यकताअनुसार योग, ध्यान, शारीरिक कसरत र खानपानमा विशेष ध्यान दिन सबैलाई सुझाउँछन्।