केही दिनअगाडि मात्र 'विश्व स्वास्थ्य संगठन' ले इबोला संक्रमणलाई 'पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेसनल कन्सर्न' घोषणा गरिसकेको छ। अर्थात्, सबै देशलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो। यस्तोमा सम्भावित केस देखिए तुरुन्त खबर गर्नुपर्छ।
के नेपाल इबोलाको जोखिममा छ?
१) इतिहास
इबोला सन् १९७६ मा (कंगो र सुडानमा) पत्ता लागेको भाइरस हो। यो भाइरस जंगली जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सजिलै सर्दछ। पछिल्लो समय नेपालीहरु विशेष गरेर रोजगारको सिलसिलामा अफ्रिकी मुलुक जाने क्रम ह्वात्तै बढेको छ। तसर्थ नेपालमा भने आयातित रुपमा अफ्रिकी मुलुकबाट फर्केका मानिसबाट भित्रिने सम्भावना देखिन्छ।
२) मृत्युदर
हाल यसको मृत्युदर ५० प्रतिशत रहेको छ। यो पहिले ९० प्रतिशतसम्म थियो। यो नयाँ देशमा (नेपाल लगायत) पुगे ५० प्रतिशत नै हुन्छ वा ९० प्रतिशत, यकिन भन्न सकिँदैन।
४) लक्षण
सुरुमा रुघाखोकीसँग मिल्दोजुल्दो देखिन्छ। संक्रमण भएको २ देखि २१ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ। पछि शरीरमा बिबिरा देखिने, पखाला-बान्ता हुने, मिर्गौला-कलेजोमा असर पार्ने र आन्तरिक-बाह्य रक्तश्राव देखिने हुन्छ। नेपालमा डेंगु, स्क्रब टाइफस देखिरहने (जसको लक्षणहरु पनि यस्तै हुन्छ) भएकाले र समान्यत: चिकित्सकले भ्रमण इतिहास पनि नसोध्ने भएकोले इबोला संक्रमण निदान गर्दा छुट्न पनि सक्दछ। त्यसैले अफ्रिकी मुलुक जाँदै गरेका नेपालीहरुलाई स्वास्थ्य सम्बन्धी चेतना दिनु अनिवार्य छ। यसका लागि सरकारले 'ट्राभल मेडिसिन' को अवधारणा स्थापना गरे आयातित रोगहरु भित्रने सम्भावना कम हुनेछ।
५) जोखिम
संक्रमितको शरीरबाट निस्कने कुनै पनि तरल पदार्थ कुनै चिजमा लागेको ठाउँमा छोएमा यो संक्रमण सजिलै सर्न सक्दछ। यसको पहिलो जोखिममा संक्रमितको परिवार र स्वास्थ्यकर्मीहरु पर्दछन्। नेपालमा कुनै पनि स्वास्थ्यकर्मीहरु उपचारमा खटिँदा 'व्यक्तिगत सुरक्षा कवज' नलगाउने भएकोले उनीहरु नै सबैभन्दा बढी जोखिममा हुने गर्दछन्। स्मरण रहोस्, इबोला संक्रमणको बारेमा थाहा नपाउँदा र पाइसकेपछि पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको इबोलाका कारण मृत्यु भएको थियो।
६) उपचार
इबोला संक्रमणको व्यवस्थापन र उपचारको लागि छुटै तालिम प्राप्त जनशक्ति र आइसोलेसन वार्ड चाहिन्छ। यसका लागि अस्पताल पहिचान गरी तयारी अवस्थामा हुनुपर्दछ। हाल इबोला देखिएका देश वा ती देशसँग जोडिएका देशबाट फर्किएका भए उनीहरुलाई छुट्टै राख्नुपर्दछ। (अमेरिकाको टेक्सासमा एक नर्स संक्रमित भएको उदाहरण पनि छ)। नेपालले पनि अफ्रिकी मुलुक भ्रमण गरेर आएका जो कोही नागरिकको पूर्ण व्यक्तिगत जानकारी लिई नजिकको सम्पर्कमा रहनुपर्दछ। इबोला नेपालमा कहिल्यै भित्रिँदैन भनेर ढुक्क हुने बलियो आधार देखिँदैन। र, अहिले भएकै भौतिक संरचनामा उपचार गरे स्वास्थ्यकर्मीहरु सजिलै इबोलाबाट संक्रमित हुन सक्नेछन्।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)