ओई तालु...
ओ तक्लु...
ओई चिन्डे...
भर्खरै ब्याचलर तहको पढाइ सकेका विपीन (नाम परिवर्तन) ले पछिल्लो ५ वर्षमा सबैभन्दा बढी सुनेको तर मन नपराएका शब्द हुन् यी। यी शब्द सुनेपछि उनी निकै चिढिन्थे। रिसले मुरमुरिन्थे। कतिसँग त झगडासमेत गरे।
१८ वर्षको उमेरमै कपाल झरेर तालु देखिन सुरु भएपछि साथीभाइले नै उनलाई यी नामले बोलाउन थालेका हुन्।
साथीभाइले जिस्काउँदा जिस्काउँदै उनको नाम नै फेरिएर तालु, तक्लु र चिन्डे भइसकेको थियो।
प्लस टू पढ्दासम्म उनको कपाल ठिकठाक थियो। उमेर बढ्दै जाँदा कपाल घट्दै गयो। ब्याचलर सक्ने बेलासम्म त उनको चिल्लो चालु मात्रै देखिन थाल्यो।
साथीभाइले त जिस्क्याउनु स्वाभाविक नै थियो। तर, बाटोमा हिँड्दै गर्दा अपरिचितले (विशेषगरी बालबालिकाले) समेत ‘तक्लु’ भन्दा भने उनको रिसको पारो चढ्थ्यो। कतिलाई जवाफ फर्काउँथे। कतिले बोलाएको नसुनेझैं गरेर बस्थे।
आफूलाई सकेसम्म जोगाउन उनले टाउकोमा क्याप लगाउन सुरु गरे। तर कहिलेकाहीँ क्याप लगाउन भुल्दा भने समस्या परिहाल्थ्यो। ‘एकपटक १० वर्षे जेठो दाजुसँग एउटा कार्यक्रममा गएको थिएँ। धेरैले मलाई दाइ अनि उसलाई चाहिँ भाइ पो भने,’ उनले विगत सम्झिँदै भने, ‘लास्टै रिस उठेको थियो। तर के गर्नु, खुइलिएको तालु आफ्नै थियो।’
सँगैका साथीभाइले गुगलमा कोरियनदेखि बलिउड कलाकारको हेयर स्टाइल खोजिइरहँदा उनी भने कपाल उमार्ने घरेलु विधि र आधुनिक विधि खोजिरहेका हुन्थे। तालुमा कपाल उमार्न उनले अदुवाको रसदेखि कपाल उमार्ने तेलसम्म किनेर लगाए। तर, उनको चिल्लो तालुमा कालो कपाल उम्रेन। आधुनिक उपायको खोजी गर्ने क्रममा साथीभाइले नै उनलाई सुझाए, कपाल प्रत्यारोपण गर्न। त्यसपछि उनी पुगे, अरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर।
०००
डेढ वर्षअघि कपाल प्रत्यारोपण गरेका विपीनको तालुमा अहिले भरिभराउ कपाल छन्।
सेन्टरमा उनको आवश्यक परीक्षणपछि ४५ सय कपाल प्रत्यारोपण गरिएको थियो।
विपीनको जस्तै समस्यामा थिए, २५ वर्षीय सुरेश। उनको त तालुकै कारण प्रेमिकासँग पटकपटक विवाद पनि हुन्थ्यो।
‘गर्लफ्रेन्डका साथीहरूले त्यस्तो तक्लु, बूढोसँग के प्रेम गरेको होला भन्दै जिस्काउने रहेछन्,’ सुरेशले भने, ‘दुई जना सँगै हिँड्दा बाबुछोरी जस्तो देखिन्छ समेत भन्न थालेपछि उनकै दबाबले कपाल रोप्ने निर्णयमा पुगेको हुँ।’
कपाल प्रत्यारोपणका लागि उनी प्रेमिकासँगै आएका थिए, आवरण स्किन एन्ड हेयर क्लिनिक। ‘उसको कपाल नभए पनि मलाई केही फरक परेको थिएन,’ प्रेमिकाले भनिन्, ‘तर, जहाँ गए पनि जिस्क्याउने र कुरा काट्ने मात्र भएपछि उनीहरूको मुख टाल्न कपाल प्रत्यारोपण गर्न सुझाव दिएकी हुँ।’
आवरण क्लिनिकका कपाल प्रत्यारोपण सर्जन डा रुपक घिमिरेले सुरेशको आवश्यक जाँच र परीक्षणपछि करिब ४ हजार कपाल रोप्नुपर्ने जानकारी दिए। त्यसपछि सुरेशले प्रेमिकातर्फ फर्कंदै भने, ‘यति कपाल रोपपछि त हाम्रो जोडी देखेर सबैले डाहा गर्छन् होला है।’
क्लिनिकमा हाँसो फैलियो। डा रुपकले चैत २४ गते कपाल प्रत्यारोपण गर्ने मिति तोकिदिए।
‘सुरेश जस्तै साथी र आफन्तले जिस्क्याएर हैरान भएका, विवाह गर्न लागेका, कलाकार तथा व्यापारीहरू धेरै मात्रामा कपाल प्रत्यारोपण गराउन आउने गरेका छन्,’ डा रुपकले स्वास्थ्य खबरपत्रिकासँग भने।
उनका अनुसार कपाल झरेर तक्लु भएकै कारण कतिपय डिप्रेसनमा समेत पुगेको पाइएको छ। ‘त्यस्ता मानिस कपाल प्रत्यारोपणपछि हाँसीखुसी जीवन बिताइरहेको देख्दा भने निकै खुसी लाग्छ,’ डा रुपकले भने।
बढ्दो जनचेतना र प्रत्यारोपण गराउने केन्द्रको संख्या बढेसँगै पछिल्लो समय नेपालमा कपाल प्रत्यारोपण गराउनेको संख्या वृद्धि भइरहेको छ।
कपाल कसरी प्रत्यारोपण गरिन्छ? प्रत्यारोपण गराउन कस्ता व्यक्ति आइरहेका छन्? लगायका विषयमा स्वास्थ्य खबरपत्रिकाको टोलीले अरोगिन र आवरणसहित धुलिखेल अस्पताल, नेपाल स्किन आर्ट र फोलिडर्म हेल्थ केयरमा पुगेर स्थलगत अध्ययन गरेको थियो। अध्ययनका क्रममा हामीले शल्यकक्षभित्र पुगेर कपाल निकालेको र रोपेको दृश्यहरूको समेत प्रत्यक्ष अवलोकन गरेका थियौं।
कपाल प्रत्यारोपणको जानकारी लिनुभन्दा पहिला कपाल किन झर्छ भन्ने विषयबारे जान्न आवश्यक हुन्छ। कपाल झर्ने कारण धेरै हुन्छन्। सबै टाउकोमा कपाल प्रत्यारोपण गर्न मिल्दैन।
किन झर्छ कपाल?
नयाँ बानेश्वरस्थित स्किन आर्टस एस्थेटिक्समा कार्यरत छाला रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन डा लैला विष्टका अनुसार क्यान्सर र थाइराइडका कारण पनि कपाल झर्छ। विभिन्न रोग/किटाणुले जरा खाँदा पनि झर्ने भएकाले रोग पत्ता लगाएर उपचार गर्दा कपाल आफै उम्रने हुन्छ।
‘कतिपय कपाल झर्नेबित्तिकै रोप्न मिल्छ भन्ने ठान्छन्,’ उनले भनिन्, ‘तर त्यस्तो होइन, निश्चित कारणले झरेको कपाललाई मात्र रोप्न मिल्छ।’
विशेषगरी पुरुषहरूको कपाल एन्ड्रोजेनेटिक एलोपेसियाका कारण झरेको छ भने कपाल प्रत्यारोपण गर्न मिल्छ। यो रोगका कारण भएको समस्या होइन। सामान्य भाषामा भन्नुपर्दा टाउकोमा एन्ड्रोजन हर्मोनले कपालको जरालाई मार्दै जाँदा तालुको कपाल झर्दै जाने हुन्छ। यसमा उक्त हर्मोनका साथै वशांणुगत कारण पनि जोडिन्छ। त्यही भएर यस्तो किसिमको कपाल झर्ने कारणलाई मेडिकल भाषामा ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भनिएको हो।
अरोगिनमा कार्यरत छाला रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन कमलराज धितालका अनुसार एन्ड्रोजेनेटिक एलोपेसियालाई सामान्य भाषामा तालुपना भनेर बुझिन्छ। यो पुरुषहरूमा मात्र पाइने हर्मोन टेस्टेस्टेरोनको उपज डाइहाइड्रो टेस्टोस्टेरोनले गर्दा हुने गर्छ। साधारणतय पुरुषहरूमा देखिने तालुपनाको प्रमुख कारण यही हो। यसमा कपालका रेशाहरू पातलिँदै गएर पछि तालुपना देखिने गर्छ। प्रायजसो तालु र टुप्पीको भागमा कपाल झर्दै जान्छ र तालुपना देखिन्छ। किनकि यो भागका जराहरू डाइहाइड्रो टेस्टोस्टेरोनबाट चाँडै प्रभावित हुने गर्छन्। यस अवस्थामा टाउको र शरीरको अरू भागका रौं भने स्वच्छ रहन्छन्।
छाला रोग विशेषज्ञ डा सञ्जुबाबु श्रेष्ठका अनुसार टाउकोमा हुने कपाल दुई प्रकारका हुन्छन्, एन्ड्रोजेन सेन्सेटिभ र एन्ड्रोजेन इन्सेन्सेटिभ।
एन्ड्रोजेन सेन्सेटिभ भनेको टाउकाको अगाडिपट्टिको भागमा हुन्छ। यही कपाल झर्दै जाने हो। त्यही भएर अधिकांश मानिसको निधारपट्टिबाट कपाल झर्दै जाने हुन्छ।
यसका साथै परिवारमा हजुरबाबा, बुबा वा मामाघर तर्फका हजुरबा लगायतको कपाल कम उमेरमा झरेको छ भने त्यसको वंशाणुगत असर छोरानातिमा पर्ने डा श्रेष्ठ बताउँछन्। उनका अनुसार यसको मुख्य कारण भनेको डाइहाइड्रो टेस्टोस्टेरोन हर्मोन हो। यसरी झरेको कपालमा प्रत्यारोपण गर्न मिल्छ।
कसरी झर्दै जान्छ कपाल?
डा लैला विष्टका अनुसार एन्ड्रोजेनेटिक एलोपेसियाका कारण झर्ने कपाल अचानक हुने होइन। रोग तथा अन्य समस्यामा कपाल फ्वाक्क–फ्वाक्क गरेर धेरै मात्रामा झर्ने हुन्छ। तर, यस्तो समस्यामा बिस्तारै थोरथोरै गरेर कपाल झर्ने हुन्छ।
निधारको छेउमा रहेको कपालको बोर्डर लाइनबाट कपाल मर्दैमर्दै जाने समस्या हुन्छ र झर्न थाल्छ। त्यहाँबाट बिस्तारै पछाडि सर्छ र निधार ठूलो हुँदै जान्छ।
कपाल झर्ने समस्या धेरैजसोमा २० वर्षको उमेरदेखि देखा पर्छ। ३० वर्ष हाराहारीमा छाला देखिन थाल्छ भने ४० पुग्दै गर्दा सबै कपाल झरिसक्छन्। कसैकसैमा ३०–३५ वर्षबाट झर्न सुरु हुन्छ र ५० को उमेरसम्म पूर्णतः झरिसक्छ।
केही व्यक्तिमा भने एन्ड्रोजेन सेन्सेटिभ रौंबीचको भाग अर्थात् कपाल भुमरी भएको क्षेत्रमा बढी हुन सक्छ। त्यस्ता व्यक्तिको कपाल त्यही क्षेत्रमा पहिला झरेको हुन्छ। मानिसको पछाडि अर्थात् भुमरी रहेको क्षेत्रभन्दा तल्लो भागमा एन्ड्रोजेन इन्सेन्सेटिभ हुने हुँदा त्यो क्षेत्रको कपाल झर्दैन।
के हो कपाल प्रत्यारोपण ?
अरोगिन हेल्थ केयरका कपाल प्रत्यारोपण सर्जन डा कमलका अनुसार तालुमा कपालका रौं रोप्ने प्रक्रियालाई कपाल प्रत्यारोपण भनेर बुझिन्छ।
‘कपाल प्रत्यारोपण एक सौन्दर्य प्रशाधन प्रक्रिया हो, जसमा टाउको पछाडिको भागबाट कपालको जरा निकालिन्छ र अगाडि खाली वा तालुपना देखिएको ठाउँमा रोपिन्छ,’ उनले भने, ‘पछाडिको भाग भन्नाले कानको निकट र घाँटीभन्दा माथिको भागलाई बुझिन्छ। यहाँका कपालका जराहरू डाइहाइड्रो टेस्टोस्टेरोनले असर नगर्ने खालका हुन्छन्। तसर्थ यसलाई स्थायी जरा अथवा डोनर एरिया पनि भनिन्छ। स्थायी जरा रोपिने हुँदा, प्रत्यारोपण गरिएको कपाल पनि स्थिर हुन्छ।’
डा रुपकका अनुसार व्यक्तिको आफ्नै टाउकाको पछाडिको भागका कपाल निश्चित प्रक्रियाद्वारा निकालेर अगाडि तालु भएको स्थानमा रोप्ने कार्यलाई नै कपाल प्रत्यारोपण भनिन्छ। ‘कपाल प्रत्यारोपण गर्ने भनेको खेतमा रोपाइँ गरेजस्तै हो,’ उनले भने, ‘जसरी खेतमा निश्चित स्थानबाट धानका बिउ ल्याएर बाँझो खेतमा रोपिन्छ, त्यसैगरी मानिसको टाउकामा पनि पछाडि रहेको रौंलाई निकालेर अगाडि खाली स्थानमा रोपिन्छ।’
अरू व्यक्तिको कपाल भने रोप्न मिल्दैन। व्यक्तिको आफ्नै कपाल रोप्नुपर्ने भएकाले कपाल प्रत्यारोपणमा डोनर भनेर आफ्नै टाउको पछाडीको भागलाई बुझ्ने गरिन्छ।
डा लैलाका अनुसार कपाल प्रत्यारोपणमा अरू व्यक्तिको कपाल ल्याएर हाल्ने विधि अहिलेसम्म आएको छैन। ‘केही संख्यामा अवस्था हेरीकन उसैको दारी, छाती तथा अन्य स्थानका रौं पनि ल्याएर रोप्न मिल्छ। तर, कपाल जस्तै अन्य भागका रौं रोप्नु त्यति राम्रो हुँदैन।’
कसरी गरिन्छ कपाल प्रत्यारोपण?
चिकित्सा विज्ञानमा आएको विकाससँगै कपाल प्रत्यारोपणका क्षेत्रमा पनि नयाँनयाँ प्रविधि र तरिका भित्रिएका छन्। कपाल प्रत्यारोपण गर्नुअघि टाउकाको कपाललाई छालाको सतहसम्म हुने गरी काट्ने काम गरिन्छ। त्यसपछि मात्र प्रत्यारोपणका विधि अनुसार कपाल निकालेर खाली ठाँउमा रोप्ने काम हुन्छ। कपाल प्रत्यारोपणमा कपाल निकाल्ने र रोप्ने प्रक्रिया पूरा गर्न ५ घन्टाभन्दा बढी समय लाग्ने गर्छ।
हालसम्म कपाल प्रत्यारोपण तीन तरिकाबाट हुँदै आएको छ।
पहिलो विधि भनेको फलिक्युलर युनिट ट्रान्सप्लान्ट (एफयुटी) हो। दोस्रो, फलिक्युलर युनिट एक्स्ट्रयाक्सन (एफयुई) र तेस्रो, एफयुईलाई नै परिमार्जन गरेर आधुनिक बनाइएको कपाल रोप्ने विधि। यो विधिलाई केहीले डाइरेक्ट हेयर ट्रान्सप्लान्ट (डिएचआई), केहीले डाइरेक्ट हेयर ट्रान्स्सलान्ट (डिएचटी) र केहीले इमिडिएट हेयर ट्रान्सप्लान्ट (आइएचटी) भनेर नामकरण गरेका छन्।
यसका साथै भारतका प्रख्यात कपाल प्रत्यारोपण सर्जन डा काभिष चौहानले बायो इन्ह्यान्स साइमुल्टानियस ट्रान्सप्लान्ट (बिइएसटी) अहिलेसम्मकै नयाँ प्रविधि भनेर दाबी गरेका छन्।
‘यस प्रविधिमा कपालको जरालाई बाहिर नराखी रियल टाइममा प्रत्यारोपण गरिन्छ,’ डा चौहानले भने, ‘यसमा विशेष प्रकारको इनर्जी सोलुसन पनि प्रयोग हुन्छ। जसलाई यसले जराको जीवनलाई बढाउँछ र रोपिएका कपालहरू बढ्न मद्दत गर्छ।
डा काभिषले हालसम्म ५ हजारभन्दा बढीको कपाल प्रत्यारोपण गरिसकेका छन्। उनी बेला–बेलामा नेपालको अरोगिनमा आएर प्रत्यारोपण तथा तालिम दिने काम गर्छन्। डा चौहान प्रतिष्ठित इन्टरनेसनल सोसाइटी अफ हेयर ट्रान्सप्लान्ट सर्जरीमा फ्याकल्टीको रूपमा कार्यरत छन्। उनलाई सन् २०१० मा उत्कृष्ट युवा छाला रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जनका रूपमा अवार्डसमेत प्रदान गरिएको छ।
एफयुटी विधि : फलिक्युलर युनिट ट्रान्सप्लान्ट (एफयुटी) कपाल प्रत्यारोपणका लागि केही पुरानो विधि हो। यसमा व्यक्तिको टाउकाको पछाडि रौं भएको क्षेत्रबाट छालासहितको कपालको पत्र निकालिन्छ। यसरी निकालेको पत्रलाई ट्रान्सप्लान्ट टेबलमा राखिन्छ। त्यसपछि छालाको पत्र निकालेको स्थानलाई सिलाउने काम हुन्छ।
टेबलमा राखिएको छालासहितको कपालबाट एकएक वटा जरा निकालिन्छ। त्यसलाई तालुमा उपकरणको सहयाताबाट एकएक वटा गरी रोपिन्छ। यो विधिमा छालासहितको कपाल निकाल्दा टाउको पछाडिको भागमा लामो घाउ बनेको हुन्छ। उक्त घाउ निको हुन निकै समय लाग्छ। उक्त स्थानमा कपाल बढेर लामो भएपछि पानी दाग देखिन्छ। यसमा निकालिएको कपालको जरा मर्ने सम्भावना पनि धेरै हुन्छ। पुरानो यो विधि अहिले पनि केही स्थानमा प्रयोगमा छ।
एफयुई विधि : एफयुटीपछि विकास गरिएको नयाँ विधि हो, फलिक्युलर युनिट एक्स्ट्रयाक्सन (एफयुई)। यो विधि एफयुटीभन्दा फरक छ। यसमा छालाको पत्र काटेर निकाल्नु पर्दैन। यसमा कपालका रौंका जरा र त्यस वरिपरिका छालालाई विशेष किसिमको मोटरयुक्त उपकरणको सहायतामा निकाल्ने काम हुन्छ।
सामान्य रूपमा भन्नुपर्दा यसमा माटोसहितको बिरुवा निकालेर अन्यत्र लगेको जस्तै हो। यसरी निकालेको जरासहितको कपाललाई विशेष तरल पदार्थमा राखिन्छ। त्यसपछि निकालेर राखिएको जरालाई तालुमा रोप्नका लागि बनाइएको प्वालमा उपकरणको सहयोगमा एकएक वटा गरेर राखिन्छ। अर्थात् वृक्षरोपणका लागि जसरी खाल्डा बनाएर राखिएको हुन्छ।
यो विधिमा पनि कपाल रोप्नका लागि सानासाना प्वाल बनाइएको हुन्छ। यो विधिमा कपाल निकालेको र रोपेको स्थानमा निकै साना चोट हुन्छ। यी चोट छिट्टै निको हुन्छन्। यो विधिमा कपाललाई बाहिर लामो समय राख्नुपर्ने भएकाले जराहरू मर्ने सम्भावना पनि रहन्छ। यो विधि धेरै स्थानमा प्रचलनमा छ।
डाइरेक्ट विधि : यो फलिक्युलर युनिट एक्स्ट्रयाक्सन (एफयुई) कै विकसित र परिमार्जित विधि हो। प्रत्यारोपण केन्द्रहरूले यो विधिलाई विश्वबजारमा पेटेन्ट अधिकार लिएका विज्ञहरूलाई बोलाएर वा उनीहरूका कम्पनीसँग सम्झौता गरेर प्रयोगमा ल्याएका छन्। यो आधुनिक र धेरै उपयोगी विधि पनि हो।
अन्य विधिको तुलनामा यो विधिमा रोपिएका कपालको उम्रने नतिजा निकै राम्रो र गुणस्तरीय हुन्छ। एफयुई विधिलाई प्रचलनमा ल्याउने व्यक्तिले नै यो विधिलाई परिमार्जन गरेर डाइरेक्ट हेयर इम्प्लान्ट (डिएचआई) नामकरण गरेका छन्। यो विधिमा एफयुईमा भन्दा रौं निकाल्ने उपकरणको प्वाल निकै सानो हुन्छ। यसलाई पन्च मेसिन भनिन्छ। यसले कपालको जरालाई तान्ने काम गर्छ।
यो प्रविधिबाट कपाल निकाल्दा टाउकामा चोट लाग्ने र दाग बस्ने सम्भावना अरू विधिमा भन्दा निकै कम हुन्छ। यसमा कपाललाई सियो जत्रो आकार भएको इम्प्लान्टरमा जरा राखेर एकएक वटा कपाल रोपिन्छ। यो विधिमा कपाल रोप्न प्वाल बनाइरहनु पर्दैन। इम्लान्टरमा नै रहेको सियोले आफैं प्वाल बनाएर रोप्ने काम गर्छ। यो विधिमा रोपिएको कपाल बाँच्ने सम्भावना ९७ प्रतिशतभन्दा माथि हुन्छ।
प्रत्यारोपणपछिको अवस्था
कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन। कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर नै प्रत्यारोपण गर्न सकिन्छ। यसरी रोपेको कपालले टाउकामा नयाँ जरा उमार्ने काम गर्छ र पहिला रोपेको कपाल २ देखि ३ हप्तापछाडि झर्छ। तर, १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ।
प्रत्यारोपण गरिसकेपछि डोनर क्षेत्रलाई ब्यान्डेज र पेपरटेप प्रयोग गरेर छोपिन्छ र ४८ देखि ७२ घन्टाभित्र निकालिन्छ। चिकित्सकले आवश्यकता अनुसार एन्टिबायोटिक र अन्य औषधि केही दिनलाई दिन सक्छन्। कपाल रोपिएको क्षेत्रलाई भने खुल्ला अथवा विशेष क्यापले छोप्नुपर्छ। ताकि त्यस क्षेत्रमा कुनै संक्रमण नहोस्। ट्रान्सप्लान्ट गरिसकेको ७२ घन्टापछि क्लिनिकमै आएर सफा गरिन्छ। त्यसपछि सामान्य रूपमा नै ठिक हुँदै जान्छ।
प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घन्टापछि बढ्न थाल्छ। ५/६ महिनादेखि एक वर्षभित्र कपाल काट्न मिल्ने हुन्छ। करिब एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरे पनि फेरि सामान्य अवस्थामा झैं कपाल पलाइरहन्छ।
प्रत्यारोपण गर्दा दिमागमा असर गर्दैन
कपाल प्रत्यारोपण गर्दा दिमागमा असर त गर्दैन ? धेरैले गर्ने प्रश्न यो पनि हो। तर, प्रत्यारोपणले दिमागमा कुनै असर नगर्ने चिकित्सकहरू बताउँछन्। टाउकामा कपालभन्दा भित्र विभिन्न ८ वटा तह हुन्छ। कपालको छालाभन्दा मुनि एक तहको बोसो हुन्छ। त्यसभन्दा तल एपोन्युरोसिस भन्ने बाक्लो झिल्ली हुन्छ।
उक्त झिल्लीभन्दा तल मांसपेशी हुन्छ। मांसपेशीभन्दा तल हड्डीको बाहिरको कभर हुन्छ। त्यसपछि हड्डी। त्यसभन्दा तल पानी हुन्छ। त्यो पानीभित्र बल्ल मस्तिष्क हुन्छ। ‘कपालको जरा निकाल्ने क्रममा छालाको मुनिको बोसोमा समेत असर नपर्ने भएकाले दिमागमा असर गर्छ भन्नु भ्रम मात्र हो,’ डा लैलाले भनिन्।
गुणस्तरीय सेवाका लागि दक्ष जनशक्ति र उपकरण
कपाल प्रत्यारोपणका क्षेत्रमा पनि विकृति भित्रिइसकेको छ। त्यसैले गुणस्तरीय संस्थामा दक्ष जनशक्तिबाट मात्र प्रत्यारोपण गराउन सुझाउँछन्, फोलिडर्म क्लिनिकका कपाल प्रत्यारोपण सर्जन डा प्रमोद अग्रवाल। ‘गुणस्तरीय तथा आधुनिक प्रत्यारोपण उपकरण भएका संस्थामा मात्र गएर प्रत्यारोपण गराउँदा राम्रो,’ उनले भने।
अरोगिनका कार्यकारी निर्देशक रोशन पाण्डे पनि गुणस्तरीयतामा ध्यान दिन जोड दिन्छन्। ‘प्रत्यारोपण गराउन मानिसले लाखभन्दा बढी रकम खर्च गरिरहेका हुन्छन्। त्यसकारण प्रत्यारोपण गर्नुपूर्व उक्त संस्था, प्रत्यारोपण गर्ने जनशक्ति तथा उपकरण लगायतका विषयमा ध्यान दिन आवश्यक छ।’
नेपालमा कपाल प्रत्यारोपणको काम सुरु भएको ४ वर्षभन्दा बढी भइसकेको छ। कपाल प्रत्यारोपणका लागि एक लाखभन्दा माथि खर्च लाग्छ। संस्थाहरूले कपालको संख्या तथा प्रविधि अनुसार मूल्य निर्धारण गर्ने गरेका छन्।