काठमाडौं – नर्सिङ कलेजहरूलाई विद्यार्थी भर्नाका लागि सिट तोक्नुअघि कलेजहरूको अनुगमन हुने गरेको छ। तर, ती सबै अनुगमन पूर्वसूचना दिएर नै हुने गर्छ। जसका कारण कलेजहरूले अनुगमनका समयमा देखाउन मात्र भाडामा आवश्यक उपकरण तथा जनशक्ति ल्याएर देखाउने गरेका छन्। यतिमात्र होइन कलेजहरूले अनुगमनको समयमा निःशुल्क शिविर गर्दै बिरामीको संख्या बढी देखाउने कामसमेत गर्ने गरेका छन्।
अन्य समयमा अस्पतालमा बिरामीको संख्या निकै कम हुनुका साथै आवश्यक उपकरणको पनि अभाव हुन्छ। तर, अनुगमनका बेला बिरामी भरिभराउ देखिन्छन्। यतिमात्र नभई कलेजका अस्पतालमा एक्स रे मेसिन समेत अन्य अस्पतालबाट अनुगमनका समयमा मात्र देखाउन भाडामा ल्याउने गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमनका क्रममा फेला परेको छ।
‘कलेजमा अनुगमनमा जानु पहिले नै काउन्सिल, सिटिइभिटी तथा विश्वविद्यालयबाट पूर्व सूचना हुने रहेछ’ स्वास्थ्य मन्त्रालयबाट अनुगमनमा गएका एक सदस्यले भने, ‘यो त कलेजललाई तिमीहरु मनपरी गर हामी तिमीहरुको मनपरीमा साथ दिन्छौँ भनेजस्तै भयो नि।’
कलेजहरूले अनुगमनको समयमा झुक्याउने गरेको विषयमा गुनासो आएपछि स्वास्थ्य मन्त्रालय र नर्सिङ काउन्सिलले छड्के अनुगमन गरेको थियो। सो समयमा कलेजले फट्याइँ गर्ने गरेको कुरा पुष्टि भएको काउन्सिल अध्यक्ष गोमा निरौला समेत स्विकार गर्छिन्।
‘हाम्रो छड्के अनुगमनका क्रममा धेरै कलेजले अन्यत्रबाट केही दिनका लागि भाडामा सामान ल्याउने गरेको फेला पारेका थियौं,’ उनले भनिन्, ‘त्यस्ता कलेजलाई हामीले कारबाहीको प्रक्रिया अगाडि बढाएका छौं।’ उनले पूर्व सूचना दिएर अनुगमनमा जाने कार्यलाई समेत रोकेर छड्के अनुगमनका आधारमा सिट निर्धारण गर्ने कामको सुरुवात गर्नुपर्ने पनि बताइन्।
उनले यसका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयले काउन्सिललाई सहयोग गर्नुपर्ने जानकारी दिइन्। ‘धेरै समस्या फेला परेका छन्,’ उनले भने, ‘गुणस्तरीय नर्सिङ शिक्षाका लागि अब काउन्सिल, शिक्षा र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा काम गर्नुपर्ने बेला आएको छ।’
मापदण्ड विपरीतका कलेज
नर्सिङको गुणस्तर कमजोर हुनुमा मापदण्डविपरीत कलेजलाई कारबाही गर्न नसक्नु नै प्रमुख कारण रहेको नर्सिङ क्षेत्रका विज्ञ बताउँछन्। नेपाल नर्सिङ काउन्सिलकै तथ्यांक अनुसार देशभर सञ्चालित २ सय ३३ वटा कलेजमध्ये आधाभन्दा बढीले काउन्सिलको मापदण्ड पूरा गरेका छैनन्। यस्ता कलेजका विषयमा जानकारी हुँदा पनि काउन्सिलले ती कलेजलाई कारबाही गर्ने हिम्मत भने गर्न सकेको छैन। विभिन्न राजनीतिक दल आबद्ध व्यक्ति, चिकित्सक र ठूला व्यवसायीहरूको दबाबका कारण काउन्सिल समस्या देखेर पनि नदेखेझैं बस्न बाध्य छ।
‘यहाँ धेरै कलेजमा नेताहरूकै संलग्नता छ,’ काउन्सिलकी एक सदस्यले भनिन्, ‘मापदण्ड र पूर्वाधार नपुग्नेमा उनीहरूकै कलेज हुन्छ। तर, हामीले केही गर्न सकेका छैनौं।’
काउन्सिलको तथ्यांक अनुसार नेपालमा हाल नेपालमा अनमीतर्फ ५१, प्रवीणता प्रमाणपत्र तहतर्फ १ सय १७, ब्याचलर अफ नर्सिङतर्फ ४०, बिएस्सी नर्सिङतर्फ ४७, ब्याचलर इन मिडवाइफ्री साइन्सतर्फ २ र मास्टर्स इन नर्सिङतर्फ ८ वटा कलेजमा अध्यापन हुन्छ। यीमध्ये केही कलेजले २ वा त्योभन्दा बढी कार्यक्रमसमेत चलाएका छन्। तर, काउन्सिलको तथ्यांक अनुसार यी सबै कलेजमध्ये आधाभन्दा बढीले मापदण्ड र पूर्वाधार पूरा गरेका छैनन्।
काउन्सिलले अनमी, पिसिएल, बिएन, बिएस्सी, बिएमएस र एमएनका लागि छुट्टाछुट्टै मापदण्ड र पूर्वाधार तोकेको छ। काउन्सिलले तहगत आधारमा अस्पताल, पाठ्यक्रम, पूर्वाधार, प्रयोगात्मक कार्यक्रम, समुदायमा गएर अध्ययन गर्नुपर्ने, शिक्षक लगायतका विषयमा मापदण्ड र पूर्वाधार तोकेको छ। तर, काउन्सिलले तोकेका यी सबै विषय अनुसारको मापदण्ड र पूर्वाधार पूरा गर्ने कलेजको संख्या मुस्किलले २५ प्रतिशत मात्र रहेको काउन्सिल स्रोत बताउँछ।
मापदण्डविपरीत कलेज सञ्चालन गर्नेमा सिटिइभिटी अन्तर्गतका कलेज धेरै रहेका छन्। त्यसपछि पूर्वाञ्चाल विश्वविद्यालयबाट सम्बन्धन लिएर चलेका कलेज पनि छन्। काउन्सिलको परीक्षामा धेरै अनुत्तीर्ण हुनेमा पनि सिटिइभिटी अन्तर्गतका कलेजमा पढ्ने विद्यार्थी बढी छन्।
नर्सिङ कलेज सञ्चालन गर्न अनिवार्य रूपमा आफ्नै अस्पताल हुनुपर्ने नियम छ। स्वास्थ्य मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफ्नै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। नर्सिङ कलेज सञ्चालनका लागि कम्तिमा पनि अनिवार्य रूपमा ५० बेडको आफ्नै अस्पताल हुनुपर्छ। अस्पताल भएर मात्र पुग्दैन, यस्ता अस्पतालमा बेडको अकुपेन्सी ६० प्रतिशतभन्दा बढी हुनुपर्छ।
सरकारले नर्सिङ कलेजलाई अस्पताल निर्माणका लागि २०७४ असोज मसान्तसम्मको समय दिएको थियो। तर, कलेजले सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै अस्पताल निर्माणमा अटेरी गर्दै आइरहेका छन्। सरकारले दिएको अन्तिम समय सकिएर पनि २ वर्ष पूरा हुन लागिसकेको छ। यो अवधिमा अझै पनि ९३ वटा कलेजका आफ्नै अस्पताल छैनन्।
यो पनि :
नर्सिङ शिक्षामा बेथिति–१: ओखलढुंगा नर्सिङ क्याम्पसको ६० प्रतिशत कोटा भागवन्डामा, सर्वसाधारण पढ्नबाट बञ्चित हुँदै
नर्सिङ शिक्षामा बेथिति–२: ५० शय्या भएका नर्सिङ कलेजलाई नियमविपरीत ४० सिट दिन स्वास्थ्य राज्यमन्त्रीको दबाब
निर्सिङ शिक्षामा बेथिति-३ : नर्सिङ लाइसेन्स परीक्षामा धेरै कलेजको नतिजा शून्य : कुन कलेजका कति पास, कति फेल?
निर्सिङ शिक्षामा बेथिति-४ : नर्सिङ शिक्षामा मनपरी : यी ९३ वटा कलेजका आफ्नै अस्पताल छैनन्