पछिल्लो समय नेपाल नर्सिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए। यसले नर्सिङ शिक्षाको गुणस्तरका साथै काउन्सिलको नियमनमा समेत प्रश्न उब्जाएको छ। कमजोर रिजल्ट आएपछि काउन्सिलले के सोचिरहेको छ ? किन धेरै विद्यार्थी फेल भए ? नर्सिङ कलेजको गुणस्तर सुधारका लागि कस्तो काम भइरहेको छ ? यिनै विषयमा नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा गोमादेवी निरौला श्रेष्ठसँग स्वास्थ्यखबरका लागि कल्पना पौडेलले गरेको कुराकानी :
नेपाल नर्सिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत विद्यार्थी फेल भए, के कारणले होला?
यो पटकको २२औं लाइलेन्स परीक्षामा ६५ प्रतिशत फेल र ३५ प्रतिशत मात्र पास भएका छन्। योभन्दा अघिल्लो पटकका परीक्षामा समेत फेल भएका विद्यार्थी समेत थपिँदा फेल हुनेको संख्या धेरै पुगेको हो। अर्को कुरा केही विद्यार्थीलाई सामान्य नेपालीसमेत लेख्न पनि नआउने अवस्था देखियो। काउन्सिलमा एउटा कामका लागि निवेदन लेख्नुपर्ने थियो। एक जना नर्सले सामान्य नेपाली लेख्न पनि जान्नुभएन। हामीले यसरी लेख्नुहोस् भनेर नमुना बनाएर दियौं। त्यो सार्दा पनि उहाँले शुद्ध लेख्न सक्नुभएन। सारेको समेत निकै गल्ती छन्। यसले हामीलाई के सोच्न बाध्य बनायो भने उहाँले नर्सिङको प्रवेश परीक्षा त दिनुपर्छ। तर सिटिइभिटीको परीक्षा कसरी पास गर्नुभयो ? भन्ने लागिरहेको छ। यस्ता धेरै उदाहरण छन्।
पछिल्लो नतिजाबारे धेरैखाले चर्चा सुरु भएको छ, काउन्सिलले यसबारे विश्लेषण गरेको छ ?
पक्कै पनि हामीले विश्लेषण गरेका छौं। म सत्रौं नर्सिङ लाइसेन्स परीक्षादेखि काउन्सिलमा प्रवेश हुँ। यस्ता उतारचढाव भइरहन्छन्। विगतका परीक्षामा फेल भइरहनेहरू यस पटकको परीक्षामा पनि धेरै फेल भएका छन्। तर नियमित पास भएर लाइसेन्स परीक्षामा सहभागी हुनेहरूको पास प्रतिशत राम्रो छ। आफ्नै अस्पताल नभएका र अस्पताल भएर पनि बेड अकुपेन्सी कम भएका कलेजबाट पढ्ने धेरै फेल भएका छन्। अर्को कुरा भारतबाट पढेर आएकाहरू पनि धेरै फेल हुने गर्छन्।
पछिल्लो समय नर्सिङ कलेजको संख्या अत्यधिक खुलेका छन्। तर तिनले गुणस्तरीय शिक्षा दिएनन् भन्ने गुनासो छ नि ?
त्यो पनि एउटा कारण हुन सक्छ। किनभने परिषद्ले गुणस्तरीय शिक्षाका लागि मनिटर गर्ने काम गरेको छ। कलेजलाई मान्यता दिने क्रममा हामी जानकारी दिएर निरीक्षणमा जान्छौं। तर हामीलाई कुनै शंका, वा उजुरी आयो भने जानकारीबिना नै निरीक्षणमा पनि जान्छौं। त्यसरी जानकारी नदिई जाँदा कलेजहरूमा धेरै कुरा पूरा नगरेको भेटिएको छ। ल्याब अन्य उपकरण नै हुँदैनन्। अनुगमनमा जाँदा हतारमा अन्य अस्पतालमा सामग्री ल्याइन्छ। तर अनुगमन टोली फर्केपछि अन्यत्रबाट ल्याएको सामान फर्काइने रहेछ। विद्यार्थीको गुणस्तरका विषयमा प्रश्न उठ्ने अर्को कारण कलेजमा प्रयोगात्मक अभ्यास गर्न नपाउनु पनि हो।
त्यही भएर पछिल्लो समय हामीले मापदण्ड र पूर्वाधारका विषयमा कडाइ गर्दै गएका छौं। राष्ट्रिय चिकित्सा शिक्षा ऐनले पनि आफ्नै अस्पताल हुनुपर्ने विषयमा जोड दिएको छ। अब गुणस्तरमा सम्झौता गर्नु हुँदैन। कलेज सञ्चालका क्रममा २०६७ सालअघि अगाडि स्विकृति पाई सञ्चालन भएका ५० बेड भएका अस्पतालका कलेजहरूले ४० सिट पाएका छन्। ०६७ सालयता भने ५० बेड भएका कलेजले २० सिट मात्र पाएका छन्। यहाँ पनि ठूलो विवाद छ।
कलेजको मापदण्ड र गुणस्तरका विषयमा काउन्सिल एक्लै लागेर सम्भव हुँदैन। यहाँ शिक्षा र स्वास्थ्य मन्त्रालयको पनि सहयोग चाहिन्छ। केही कलेजमा राजनीतिक पहुँच भएका व्यक्तिहरुको समेत संलग्नता रहेको पाइएको छ। यस्ता कलेजलाई मापदण्ड अनुसार चलाउन पनि काउन्सिल, शिक्षा र स्वास्थ्य मन्त्रालयको त्रिपक्षीय सहयोग चाहिन्छ।
निरीक्षणका क्रममा कलेजमा कमजोरी देखियो भने काउन्सिलले कस्तो कारबाही गर्छ?
काउन्सिलबाट निरीक्षणमा जाँदा मापदण्ड पुगेको देखिएन भने सुधारका लागि निश्चित समय दिन्छौं। त्यतिबेलासम्म पनि सुधार भएनन् भने कलेजले पाएको सिट संख्या घटाउनेसम्मको कारबाही हुन्छ। कलेजलाई सुरुमा स्विकृति दिने काम सिटिइभिटीले दिन्छ। विश्वविद्यालयको छ भने विश्वविद्यालयले दिन्छ। उनीहरूले निरीक्षण गरी सबै मापदण्ड पुगेको छ भनेर सिट सिफारिस गरेपछि हामीले परामर्श दिएर सञ्चालन गर्न मिल्छ भन्ने हो। तर, सिटिइभिटी र विश्वविद्यालयले राम्रो भनेर सिफारिस गरेका कलेजमा हामीले हेर्दा समस्या भेटियो। त्यस्ता केही कलेजलाई विद्यार्थी भर्ना रोक्न भनेका छौं।
कस्ता विद्यार्थी बढी फेल भएका छन्?
फेल हुने धेरै निजी नर्सिङ कलेजका विद्यार्थी छन्। काउन्सिलको तथ्यांकमा त्यो प्रस्ट छ। सरकारी कलेजमा पढ्ने धेरै पास हुन्छन्। त्यसमा पनि सिटिइभिटीले सञ्चालन भएका कलेजमा अझ धेरै फेल भएका छन्। सिटिभिटीले पिसिएल कार्यक्रम सञ्चालन गर्छ। स्नातक र स्नाकोत्तरका कार्यक्रम विश्वविद्यालयले गर्छ। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयहरू छन्। त्यसबाहेक चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले पनि नर्सिङ अध्यापन गराइरहेका छन्। विश्वविद्यालयतर्फ हेर्दा पूर्वाञ्चलका विद्यार्थी धेरै फेल भएका छन्।
नर्सिङ कलेज हुुनका लागि केके मापदण्ड पूरा भएको हुनुपर्छ?
पिसिएल, ब्याचलर र मास्टर्सका लागि काउन्सिलको छुट्टछुट्टै मापदण्ड छ। आफ्नै भौतिक संरचना, ल्याब, ८ जना विद्यार्थीबराबर एक शिक्षक, पिसिएल पढाउनका लागि कम्तिमा बिएन गरेको शिक्षक, अस्पतालको श्यया संख्या, बेड अकुपेन्सी लगायतका मापदण्ड छन्। तर, हाम्रो मापदण्ड धेरै कलेजले पूरा गरेका छैनन्।
सबै थाहा हुँदाहुँदै पनि किन कारबाही गर्न सक्नुहुन्न?
सुधारका लागि प्रयासहरू नभएका होइनन्। तर, पनि विभिन्न कठिनाइ आउने रहेछ। राम्ररी अनुगमन गरेर हेर्ने हो भने अहिले सञ्चालनमा रहेका आधाभन्दा बढी कलेज नर्सिङ पढाउनका लागि अयोग्य छन्। हामीले ती सबैलाई सुधार गर्नका लागि समय दिएका छौं। अब यो काममा हामीलाई सबैको साथ र सहयोग चाहिन्छ। सिटिइभिटीसँग सम्बन्धित विषयमा शिक्षा मन्त्रालयले, अस्पतालका विषयमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने हो भने धेरै कुरा सुधार हुन्छ। विश्वविद्यालय र प्रतिष्ठानका कलेजको गुणस्तर सुधारका लागि यी दुई मन्त्रालयले हामीलाई साथ दिने हो भने नर्सिङ शिक्षामा देखिएको अहिलेको अवस्थामा धेरै सुधार हुनेछ। यसका लागि हामीले स्वास्थ्य र शिक्षा मन्त्रालयमा पत्रसमेत पठाइसकेका छौं।
यो पनि :
नर्सिङ शिक्षामा बेथिति–१: ओखलढुंगा नर्सिङ क्याम्पसको ६० प्रतिशत कोटा भागवन्डामा, सर्वसाधारण पढ्नबाट बञ्चित हुँदै
नर्सिङ शिक्षामा बेथिति–२: ५० शय्या भएका नर्सिङ कलेजलाई नियमविपरीत ४० सिट दिन स्वास्थ्य राज्यमन्त्रीको दबाब
निर्सिङ शिक्षामा बेथिति-३ : नर्सिङ लाइसेन्स परीक्षामा धेरै कलेजको नतिजा शून्य : कुन कलेजका कति पास, कति फेल?
निर्सिङ शिक्षामा बेथिति-४ : नर्सिङ शिक्षामा मनपरी : यी ९३ वटा कलेजका आफ्नै अस्पताल छैनन्
नर्सिङ शिक्षामा बेथिति-५ : अनुगमनको पूर्वसूचना, भाडामा सामान र बिरामी ल्याउँदै झुक्याउँदै
नर्सिङ कलेजमा बेथिति ६ : नाम मात्रको प्रयोगात्मक, सिप बिनाका जनशक्ति उत्पादन हुँदै
नर्सिङ कलेजमा बेथिति- ७ : मापदण्ड विपरीत ५० शय्यामै ४० सिट पाएका नर्सिङ कलेजलाई एक वर्षको समय थप, राज्यमन्त्रीकै मिलेमतो
नर्सिङ कलेजमा बेथिति- ८ : कागजमा बलियो भएका नर्सिङ कलेज व्यावहारिक रूपमा कत्तिको बलिया छन्?