गलकोट - ताइवानी रोटरियनले धवलागिरि अञ्चल अस्पताल सेवालाई गुणस्तरीय बनाउनका लागि रु ३० लाखबराबरको उपकरण सहयोग प्राप्त भएको अञ्चल अस्पतालले जनाएको छ।
रोटरी क्लब अफ बागलुङले धवलागिरि अञ्चल अस्पतालमा आयोजना गरेको बृहत निःशुल्क सवस्थ्य शिविरका क्रममा बागलुङ आएका ताइवानीहरुले अस्पताललाई अत्यावश्यक उपकरण सहयोग प्रदान गरेको धवलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिए।
अस्पताललाई रु ६ लाख बराबरको मुटु जाँच गर्ने इको मेसिन, रु १२ लाख बराबरको अल्ट्रासाउण्ड मेसिन, रु १० लाख बराबरको अत्याधुनिक उपकरणजडित डेण्टल चियर दुई थान र डेण्टल सामग्री, रक्तचाप मापन गर्ने औजार छ थानलगायतका अस्पताललाई चाहिने अत्यावश्यक उपकरण रु ३० लाख बराबरको सहयोग प्राप्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ।
अस्पताललाई प्राप्त उपकरणले गुणस्तरीय सेवा छिटो–छरितो प्रदान गर्न निकै सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए।
'हामीकहाँ पेट, घाँटीलगायतको भिडियो एक्सरे गर्ने सेवा थियो, मुटुको भिडियो एक्सरे गर्न पोखरा पठाउनुपर्ने अवस्था हो”, पोखरेलले भने, “मुटुको भिडियो एक्सरे गर्न मिल्ने इको मेसिन सहयोग प्राप्त भए पनि बिरामीलाई राहत भएको छ।'
पोखरेलले अस्पतालमा डेन्टल चियरको अभावमा एकपटकमा एक बिरामीको दाँतको उपचार हुने गरेकामा सहयोग प्राप्त डेन्टल चियरपछि एक पटकमा तीन जनाको उपचार गर्न सकिने जानकरी दिनुभयो । ताइवानी रोटरीयनहरुले नेपालको स्वास्थ्य सेवामा व्यक्तिगतरुपमा सहयोग गर्दै आइरहेका छन्।
ताइवानीहरुले बागलुङ नगरपालिकाको रामरेखा आधारभूत विद्यालका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेका थिए।
नेपालमा स्वास्थ्यसम्बन्धी चेतना जगाउनका लागि रोटरीले इन्टरनेशनल ताइवानले स्वास्थ्य क्षेत्रमा बढी महत्व दिएको रोटरी इन्टरनेशनल डिस्ट्रिक ताइवानका गर्भनर जोयले बताए। उनले हस्तान्तरण गरेका उपकरणको सम्भार तथा सही प्रयोग गर्न आग्रहसमेत गरे।रासस