काठमाडौं- १०३ वर्षीय वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दासले नेपालको दशैं मनाउने पुरानो परम्पराबारे आफ्ना स्मृति सार्वजनिक गर्दै विगतमा काठमाडौंमा दुर्गाको मूर्ति बनाएर सार्वजनिक रूपमा पूजा गर्ने चलन व्यापक नरहेको बताएका छन्। उनका अनुसार पहिले मानिसहरूले आ–आफ्नै घरमा पूजा गर्ने, टीका लगाउने र जमरा थप्ने गर्थे। समयक्रमसँगै दुर्गाको मूर्ति स्थापना गरेर पूजा गर्ने परम्परा विस्तार हुँदै गएको उनको स्मरण छ।
डा. दासले २००९ सालमा वीर अस्पतालमा मेडिकल अफिसरका रूपमा सेवा सुरु गरेका थिए। त्यसबेला वीर मेल अस्पताल र वीर फिमेल अस्पतालका रूपमा रहेका स्वास्थ्य संस्थामा काम गर्दाको अनुभवसमेत उनको जीवनयात्राको महत्त्वपूर्ण हिस्सा हो।
घरघरमा पूजा, टीका र बलिको परम्परा
डा. दासको स्मरणअनुसार पहिले काठमाडौंमा अहिलेको जस्तो ठाउँठाउँमा दुर्गाको मूर्ति स्थापना गरी सामूहिक रूपमा पूजा गर्ने प्रचलन थिएन। मानिसहरूले आफ्नै घरमा देवीको पूजा गर्ने, टीका लगाउने र जमरा राख्ने परम्परा अपनाउँथे।
त्यसबेला दशैंका अवसरमा भेडा, खसी तथा बोकाको बलि दिने चलन पनि रहेको उनले बताए। अहिले सार्वजनिक स्थल, मन्दिर परिसर र विभिन्न संस्थाको आयोजनामा दुर्गाको मूर्ति स्थापना गरी पूजा गर्ने दृश्य सामान्य बने पनि यसको विस्तार क्रमशः भएको उनको भनाइ छ।
भारतीय दूतावासबाट सुरु भएको मूर्तिपूजाको विस्तार
डा. दासका अनुसार काठमाडौंमा दुर्गाको मूर्ति बनाएर पूजा गर्ने चलन सुरुमा भारतीय दूतावासमा देखिएको थियो। त्यसपछि बंगाली समुदाय, प्रणव आश्रम, रोटरी क्लब लगायतका संस्था र समुदायको पहलमा विभिन्न स्थानमा दुर्गाको मूर्ति स्थापना गरी पूजा गर्ने परम्परा विस्तार भएको उनको स्मरण छ।
यसरी धार्मिक अभ्यास र सामुदायिक सहभागितासँगै दशैं मनाउने शैलीमा पनि परिवर्तन आएको देखिन्छ। घरघरमा सीमित पूजापाठसँगै सार्वजनिक रूपमा मूर्ति स्थापना गरी सामूहिक पूजा गर्ने चलनले क्रमशः स्थान पाएको उनको अनुभवले देखाउँछ।
दशैंको सांस्कृतिक महत्त्व उस्तै
डा. दासले दशैंलाई उत्सवका रूपमा मनाउने, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने संस्कार नेपाली समाजमा निरन्तर रहेको स्मरण गरे।
पूजापद्धति र उत्सव मनाउने शैलीमा परिवर्तन आए पनि पारिवारिक भेटघाट, अग्रजप्रतिको सम्मान, आशीर्वाद र आत्मीयताको महत्त्व कायम रहेको उनको स्मरणले संकेत गर्छ।
सामाजिक सञ्जालमा डा. दासको स्मरणको चर्चा
डा. दासको दशैंसम्बन्धी भिडियो फेसबुकमा सार्वजनिक भएपछि उनका अनुभव र शताब्दी लामो जीवनयात्रालाई लिएर धेरैले प्रतिक्रिया दिएका छन्।
अधिकांश प्रतिक्रियामा उनको स्मरणलाई ऐतिहासिक महत्त्वको भन्दै सम्मान व्यक्त गरिएको छ। साथै, उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै दशैंको शुभकामना दिनेहरूको संख्या पनि उल्लेख्य छ।
पीयूष दाहालले भिडियोमा व्यक्त गरिएको स्मरणलाई महत्त्वपूर्ण भन्दै लेखेका छन्, “मूर्ति बनाएर पूजा गर्ने चलन थिएन। दशैंमा मूर्ति वा फोटोमा पूजा गर्दैन थिए। महत्वपूर्ण स्मरण । मानिसले तरीका फेर्दै गए।'
त्यस्तै, बिनोद दाहालले डा. दाससँग जोडिएका आफ्ना दुई व्यक्तिगत सम्झना सार्वजनिक गरेका छन्। उनका अनुसार एकपटक उपचारका लागि चाबहिलस्थित डा. दासको क्लिनिक पुग्दा चिकित्सकले रोगको इतिहास, खानपान, दिनचर्या र कामबारे विस्तारमा सोधपुछ गर्ने गरेका थिए। त्यतिबेला डा. दासले २० रुपैयाँ शुल्क लिएको र अन्य चिकित्सकले ४०–५० रुपैयाँ लिने गरेको उनको स्मरण छ।
दाहालले डा. दासको अर्को रोचक बानीसमेत सम्झिएका छन्। उनका अनुसार डा. दास बिहान चाबहिलको तरकारी बजार पुगेर चौंसुर, पालुङ्गो, लट्टे र बेथुजस्ता साग किन्ने गर्थे। बजारमा साग कम हुने समयमा उनले धेरैजसो साग किनेर लैजाने गरेको र आफूले भने प्रायः रायोको साग मात्रै पाउने गरेको दाहालले उल्लेख गरेका छन्। उनले ठट्टा गर्दै डा. दासको दीर्घायुको रहस्य त्यही साग त होइन भन्ने आशयसमेत व्यक्त गरेका छन्।
‘लिभिङ लेजेन्ड’ भन्दै सम्मान
डा. दासको भिडियोमा प्रतिक्रिया दिनेहरूले उहाँलाई नेपालको चिकित्सा इतिहासका ज्येष्ठ चिकित्सकमध्ये एक तथा प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरेका छन्।
रमन ढकालले उनलाई ‘लिभिङ लेजेन्ड’ भन्दै नेपालको चिकित्सा इतिहासका वरिष्ठ चिकित्सकमध्ये एकका रूपमा सम्मान व्यक्त गरेका छन्। त्यस्तै, बेद भट्टराई, तारा मस्के, टंक पराजुली, खगेन्द्र सिट्केललगायतले दशैंको शुभकामना दिँदै उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।
टंक पराजुलीले १०३ वर्षको उमेरमा पनि उनलाई देख्न र उनका विचार सुन्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि उनका अनुभव सुन्न पाइयोस् भन्ने कामना गगरेका छन्। खगेन्द्रले पुरानो दशैं परम्पराबारे उहाँका कुरा सुन्न र उनलाई बोलिरहेको देख्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
त्यस्तै, केहीले डा. दाससँग विगतमा काम गर्दाका सम्झना पनि साझा गरेका छन्। टिकराम रेग्मीले रेडक्रसमा सँगै काम गरेका दिनहरू स्मरण गर्दै उनलाई अभिवादन गगरेका छनज्। भने मिङमार गेल्जेन शेर्पाले २०३७ सालमा आफ्नो लोकसेवा अन्तर्वार्ता डा. दासले लिएको सम्झना सार्वजनिक गरेका छन्।
धेरै प्रतिक्रियामा उनलाई ‘शताब्दी पुरुष’, ‘ऐतिहासिक व्यक्तित्व’ र ‘प्रेरणाको स्रोत’ भन्दै सम्मान गरिएको छ। कतिपयले उहाँको स्वास्थ्य र सक्रिय जीवनलाई प्रेरणादायी मानेका छन् भने कतिपयले उहाँको उमेरसम्म आफूहरू पनि बाँच्न पाऊँ भन्ने सद्भाव व्यक्त गरेका छन्।
इतिहासका साक्षीका रूपमा डा. दास
डा. गौरीशंकर लाल दासको दशैंसम्बन्धी स्मरण चाडपर्व मनाउने शैलीमा आएको परिवर्तनको विवरण मात्र होइन, पुरानो नेपाली समाजको धार्मिक अभ्यास, पारिवारिक संस्कार र सामुदायिक सहभागितालाई बुझ्ने एउटा अनुभवजन्य झ्याल पनि हो।
१०३ वर्षको उमेरमा उनले व्यक्त गरेका यस्ता अनुभवले नयाँ पुस्तालाई विगतको समाज, संस्कृति र स्वास्थ्य सेवाको इतिहासबारे जानकारी दिने महत्त्व राख्छन्। सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले पनि उनीप्रति समाजमा रहेको सम्मान र उनका अनुभव सुन्ने रुचिलाई उजागर गरेका छन्।