काठमाडौँ- विभिन्न दलसँग आवद्ध ९ विद्यार्थी संगठनहरूले नेसनल मेडिकल कलेज वीरगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरुमाथि यथाशीघ्र कडा कारबाहीको माग गरेका छन्।
संयुक्त विद्यार्थी संगठनले शनिबार पद्मकन्या क्याम्पस बागबजारमा आयोजित अन्तक्रिया कार्यक्रममा चिकित्सा शिक्षाका समस्या र समाधान विषयक छलफलमा सो माग गरेका हुन्।
अन्तर्क्रियामा चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी, नेविसंघ चिकित्सा शास्त्र समन्वय समितिका पदाधिकारीलगायत उपस्थित रहेका थिए।
नेशनल मेडिकल कलेजमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरुमाथि यथाशीघ्र कडा कारबाहीको माग,नेपाल सरकारको नीति नियमको परिधिभिध रही मेडिकल कलेज सञ्चालन गर्न नसक्ने भए ऋण र चुक्ता पुँजीको मूल्यांकन गरी देशभरीका मेडिकल कलेजको राष्ट्रिकरण गर्न माग संयुक्त विद्यार्थी संगठनले गरको छ।
यसका साथै विभिन्न कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएकाले सो शुल्कको साँवा ब्याज समेत तत्काल फिर्ता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि कलेज प्रशासनले मानिस लगाएर विद्यार्थीमाथि हातपात गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।
