प्रतीकात्मक तस्बिर
काठमाडाैँ- आन्द्राको अर्बुदबाट पीडित बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि रु चार लाख सहयोग जुटेको छ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहनुभएका खत्रीको उपचारका लागि देश तथा विदेशमा सञ्चालित सहयोग सङ्कलन अभियानबाट सो रकम जुटेको हो।
सङ्कलित रकम हस्तान्तरण गरिएको खत्रीको उपचारमा संलग्न नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल श्रीषले जानकारी दिए।
पत्रकार श्रीष, काठेखोला गाउँपालिका–३ का वडासदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीलगायतले विदेशमा रहेका आफन्तमार्फत सहयोग सङ्कलन अभियान चलाएका हुन्।
खत्रीको उपचारार्थ जापानबाट कलाकार सूर्य खड्कालगायतको पहलमा रु दुई लाख, कोरियाबाट मनोज थापाको पहलमा रु ९० हजार र साउदी अरबबाट चित्र भण्डारीको पहलमा रु ५० हजार सहयोग प्राप्त भएको अभियन्ता श्रीषले बताए।
भारतको सिलोङमा काम गर्दै आएका खत्रीको उपचारमा रु चार लाखभन्दा बढी खर्च भइसकेको उनकी श्रीमती सावित्राले बताए। उनले सहयोगका लागि सबैलाई आग्रह गरेका छन्।रासस