डडेल्धुरा– १७औं पटक अनसन सुरु गरेका डा गोविन्द केसीले राखेका मागमा डोटीका विभिन्न ५ वटा संघसंस्थाले ऐक्यवद्धता जनाएका छन्। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा डडेल्धुरा पुगेको टोलीले डाक्टर केसीले राखेका मागमा ऐक्यवद्धता जनाएको हो।
उद्योग वाणिज्य संघसँगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात व्यवसायी संघ डोटी, होटल व्यवसायी संघ डोटी र त्रिवि प्राध्यापक संघ डोटीले डाक्टर केसीका माग पूरा गर्न सरकारसमक्ष माग पनि गरेका छन्। संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै डाक्टर केसीले उठाएका माग जनताको पक्षमा रहेको उल्लेख गरिएको छ।
डाक्टर केसीले स्वास्थ्य तथा चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनसन सुरु गरेका थिए। केसीले अनसन सुरु गरेको तेस्रो दिनमै उनको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन्।
रक्तचाप निकै कम हुँदा केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ। डडेल्धुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले पहिलो र दोस्रो दिनको तुलनामा केसीको स्वास्थ्य अवस्था कमजोर बनेको बताए।
चिसो भएकाले डाक्टर केसीको स्वास्थ्यमा झन् प्रतिकूल असर पर्नसक्ने पनि कँडेलले बताए। गत भदौमा डडेल्धुरा आउँदा उनले आफ्नो अर्को अनसन डडेल्धुराबाट सुरु हुने बताएका थिए।