काठमाडौँ– नारीको साथी साथीको माया नामक महिला समुहले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा उपचार गराइरहेका दुई महिलालाई आर्थिक सहयोग गरेको छ।
अस्पतालको गाइनो वार्डमा उपचार गराइरहेकी १२ वर्षिया बालिका बसन्ती बोहरा र पाठेघरमा समस्या भएर उपचार गराइरहेकी सोविता ढुंगेललाई सो समुहले आर्थिक सहयोग गरेको हो। बिहिबार समुहले अस्पतालमा पुगि बोहोरालाई १५ हजार र ढुंगेललाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो।
सो समुहले आर्थिक रुपमा कमजोर बिरामीहरुलाई सहयोग गर्दै आएको छ। यसअघि समुहले पाटन अस्पताल, भक्तपुर स्थित क्यान्सर अस्पतालका बिरामीलाई आर्थिक सहयोग गरिसकेकाे छ।
समुहकी अध्यक्ष अन्जना ताम्रकारले आफ्नो श्रमको रकम दैनिक १० रुपैयाँका दरले जम्मा गरि हरेक महिना सरकारी अस्पतालमा उपचार गर्ने भर्ना भएका तर खर्च नभएका एक जना बच्चा र एक जना महिलालाई ३० हजार बराबरको आर्थिक सहयोग गर्दै आएको बताइन। उनीहरुको समुहमा १०१ जना महिला छन्।