धादिङ- धादिङको गङ्गाजमुना गाउँपालिका-५ स्थित फुलखर्कमा भएको तीन दिने निःशुल्क आँखा शिविरमा ३९ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ।
फुलखर्क स्वास्थ्यचौकीमा शुक्रबारदेखि सञ्चालन गरिएको तीन दिने शिविरमा ३८२ को साधारण आँखा जाँच र ३९ को मोतियाविन्दुको शल्यक्रिया गरिएको निःशुल्क आँखा शिविर सञ्चालन समितिका संयोजक नवराज अधिकारीले बताए।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा कल्याण ढुङ्गाना र अस्पतालका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डा कमलबहादुर खड्का सहभागी उक्त शिविरमा बिरामीलाई कालो चस्मा र खान जाउलो निःशुल्क वितरण गरिएको थियो।
फूलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।रासस