काठमाडौं– पेट तथा कलेजो रोगबारे निःशुल्क परामर्श, निदान र उपचार सहयोगका लागि ग्याष्ट्रो तथा लिभर फाउन्डेसन खोलिएको छ। ग्रान्डी इन्टरनेशनल अस्पतालमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डा अखिलेस कुमार कश्यपको अध्यक्षतामा नयाँ बानेश्वरमा फाउन्डेसन खुलेको हो।
लामो समयदेखि निजी चिकित्सकीय अभ्यासमा रहेका डा कश्यप लगायतले समाज सेवा गर्ने माध्यम फाउन्डेसनलाई बनाएका छन्। पेट तथा कलेजो सम्बन्धि रोगको निदान, रोकथाम र उपचारमा फाउन्डेसनले काम गर्नेछ।
फाउन्डेसनको सुरुवात डा कश्यपलगायतले निजी चिकित्सा अभ्यासबाट प्राप्त गर्ने रकमबाट केही अंश छुट्याएर गरेका छन्। उक्त रकमबाट भिडियो एक्स–रे, इन्डोस्कोपी, क्लोनोस्कोपी र अन्य ल्याब सामाग्री किनिएका छन्।
आर्थिक अभावका कारण माथि उल्लेखित जाँच गराउन नसक्नेलाई निःशुल्क सेवा दिने डा कश्यपले बताए। आर्थिक रुपले केही सक्षमहरुले मनखुशी केही रकम फाउन्डेशनको कोषमा दान गर्न सक्ने उनले बताए। निजी स्वास्थ्य संस्थमा ५ देखि १० हजारसम्म पर्ने चेकजाँच फाउन्डेसनले निःशुल्क उपलब्ध गराइरहेको उनी बताउँछन्।
फाउन्डेसनले विभिन्न सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आएका बिरामीको स्टुल जाँच गरेर समेत सम्भावित बिरामी पत्ता लगाउने लक्ष्य लिएको छ। जाँचका क्रममा बिरामीको दिसाबाट केही रोगको संकेत देखियो भने बिरामीलाई समयमै उपचारका लागि सहयोग पुग्ने हुन्छ । डा कश्यप भन्छन्, ‘बिरामीबाट संकलित दिसामा अकल्ड ब्लड (आँखाले नदेखिने रगत) देखियो भने समयमै उपचारका लागि सचेत गराउन सकिन्छ।’
रोग नबल्झिदै थाहा हुँदा उपचार खर्च कम हुने मात्रै होइन, ज्यान समेत जोगिने भएकाले फाउन्डेसनका माध्यमबाट काम गर्न खोजेको डा कशेयप बताउँछन्। पछिल्लो समय बढ्दा क्लोन क्यान्सरलाई लक्ष्य गरेर समेत फाउन्डेसनले यस्तो अभियान चलाउन खोजेको हो। पूर्व रोकथाम गर्न सकिने रोगबाट समेत धेरैले प्रताडित हुनु परिरहेको अवस्थामा आफ्ना तर्फबाट केही गर्ने उद्देश्यले फाउन्डेसन खोलेको डा कश्यप बताउँछन्।
पेट तथा कलेजो समबन्धि कुनैपनि जिज्ञासाका जाँचका लागि फाउन्डेसनमा सम्पर्क गर्न सकिनेछ। यसका लागि फाउन्डेसनको मोबाइल नम्बर ९८०३५२९१२६ मा हरेक साँझ ६ बजे देखी ७ बजेसम्म सम्पर्क गर्नुपर्ने हुन्छ। वा फाउन्डेसनके फेसबुक पेजको इनबक्समा गएर म्यासेज पोष्ट गर्न सकिनेछ।
निःशुल्क भिडियो एक्स–रे, इन्डोस्कोपी, क्लोनोस्कोपी गराउन समेत बिरामीहरुले फाउन्डेसनमा सम्पर्क गर्न सक्नेछन्।