भैरहवा - रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अवैधानिक रूपमा लिएको शुल्क फिर्ता माग्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
बिडिएस र एमबिबिएस पढ्ने विद्यार्थीहरुले कलेजको प्रशाशनिक, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्ष लगायतमा तालाबन्दी गरेका हुन्। यसले कलेजको शैक्षिक तथा प्रशासनिक काम पूर्ण रुपमा ठप्प भएको छ।
२४ घण्टाभित्र शुल्क फिर्ता नभए कलेजबाट इन्टर्नमा खटेका चिकित्सकले समेत काम नगर्ने चेतावनी दिएका छन्।
अस्पताल ठप्प पार्नभन्दै निस्किएका विद्यार्थीले सरोकारवालाको सुझाव अनुसार बिरामीको संवेदनशीलतालाई बुझ्नुपर्ने भन्दै उपचार सेवा भने सुचारु गर्न दिएका छन् । यता कलेज प्रशासनले भने शुल्क समायोजन गर्न माथिल्लो निकायबाट तयारी भएकाले केही समय लाग्ने बताएको छ।
शुल्क फिर्ता लगायतको मागसहित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी कात्तिक १४ गतेदेखि आन्दोलनमा छन्।सरकारले बिडिएसका लागि १९ लाख ३२ हजार र एमबिबिएसका लागि ४२ लाख ५० हजार मूल्य निर्धारण गरेको छ।तर मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै मूल्य लिएको दाबी गर्छ। विद्यार्थीहरुलाई इन्टर्नसीप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ।
गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थी समेत अतिरिक्त रकम फिर्ता माग्दै आन्दोलमा छन् । आन्दोलनका कारण बार्षिक परीक्षा स्थगित भएको छ ।