भैरहवा - नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएको छ। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
भैरहवास्थित होटल रेडशन र कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा कात्तिक २९ र ३० गते सम्मेलन हुने आयोजक संस्थाका अध्यक्ष प्राडा हेमन्त कुमार हलुवाईले बताए।
सम्मेलनकोे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यतालिका रहेको छ। सम्मेलनमा नेपाल र नेपालभन्दा बाहिरबाट गरी ३ सय दन्त चिकित्सकको सहभागिता रहने अध्यक्ष हलुवाईले बताए।
दन्त चिकित्सकहरुबीच विचार विमर्श, अनुभव आदानप्रदान, नयाँनयाँ अत्याधुनिक प्रविधिको प्रयोग प्रदर्शन एवं अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान र सीपलाई अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्धेश्य रहेको डा हलुवाईले बताए।
‘कार्यक्रममा दन्त चिकित्सा सम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थहरुको बृहत प्रर्दशनी हुनेछ,’ उनले भने, ‘दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधि, यन्त्र, उपकरण र औषिधजन्य पदार्थ अत्यन्त सुलभ दरमा उपलब्ध समेत हुनेछ।’
सम्मेलनमा ६४ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
नेपाल भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गर्दै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुगोस भन्ने उद्धेश्यले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धारलाई सम्मेलनको लागि उपयुक्त स्थान छनोट गरिएको आयोजक संस्थाका सचिव डा कलित राज जोशीले बताए।
सम्मेलनमा करिब २५ लाख खर्च हुने आयोजकले जनाएका छन्।