डडेल्धुरा–डडेल्धुराका दुर्गमका स्थानीय तहहरुमा चिकित्सक कार्यक्रम सुरु भएको छ। शुक्रबारदेखि परशुराम नगरपालिका–७ साँदनी स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुवात भएको हो।
एक स्थानीय तहमा दुई दिन हुने कार्यक्रममा चिकित्सकहरुले विभिन्न सेवा दिइरहेको आयोजक स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। सोही ठाउँमा शनिबार पनि कार्यक्रम सम्पन्न भएको छ।
गाउँघरमा चिकित्सक कार्यक्रमबाट दुई दिनमा ३ सय ९९ महिला र १४७ पुरुषले सेवा पाएको स्वास्थ्य कायालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।
शिविर जस्तै मोडेलमा सञ्चालित कार्यक्रममा भिडियो एक्सरे, प्रजनन् स्वास्थ्य सेवा, पाठेघर चेकजाँच तथा उपचार, यौनजन्य रोग उपचार तथा परामर्श, प्रयोगशाला सेवा, दन्त सेवा तथा निःशुल्क औषधी वितरण समेत रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोलर हरिप्रशाद भट्टले जानकारी गराए।
परशुराम नगरपालिकामा सञ्चालि कार्यक्रम परशुराम नगरपालिका तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय रहेको साँदनी स्वास्थ्य चौकीका प्रमुख जयबहादुर धामीले बताए।
आइतबार र सोमबार भने आलिताल गाउँपालिकाको आलिताल स्वास्थ्य चौकीमा यो कार्यक्रमको आयोजना हुने छ।
अछाम अस्पतालका मेशु डा. मनोज बिष्ट, जोगबुडा अस्पतालका डा.किसन घिमिरे, स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुखसहित कार्यालयको टिमले सेवा दिइरहेको भेक्टर कन्ट्रोलर भट्टले बताएका छन्। डडेल्धुरामा डाक्टरको अभाव भएपछि अछामका डाक्टर ल्याइएको हो।
सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम प्रदेशको सहयोगमा जिल्लाको दुर्गम स्वास्थ्य संस्थामा गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन हुँदै आएको छ।