काठमाडौं– मिर्गौला पीडितहरूले आफूहरूलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पुर्ववत् ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन्। मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका उनीहरूले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत् राख्न माग गरेका हुन्।
१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरू प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए। प्रधानमन्त्री स्वयं मिर्गौला पीडित भएर पनि आफूहरूको समस्या नबुझेको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिए।
मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले प्रधानमन्त्रीले भेट्न समय नदिएकोले आन्दोलनको घोषणा गरिएको बताए। आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनले प्रधानमन्त्रीप्रति आक्रोश पोखे।
पीडितहरूले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडायलासिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डायलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग राखेका छन्। माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको रोल्पाका मिर्गौला पीडित दिलाराम ओलीले बताए।
प्रधानमन्त्रीसँग भेटगर्न नपाएपछि पीडितहरू बालुवाटारबाट नाराबाजी गर्दै माइतीघरसम्म आएका थिए। उनीहरूले त्यहाँ पनि केही समय प्रर्दशन गरेका थिए।