काठमाडौं– बालुवाटारमा थ्री टेस्ला क्षमताको अत्याधुनिक एमआरआइ सेवासहितको डाइग्नोस्टिक क्लिनिक सञ्चालनमा आएको छ। रोग लाग्नुभन्दा पहिला नै आवश्यक जाँच तथा परीक्षण सेवा दिने उद्धेश्यले वेलनेस सेन्टरका रुपमा ‘टेस्ला डाइग्नोस्टिक क्लिनिक’ले सेवा सुरु गरेको हो।
क्लिनिककी सिइओ रिन्कु श्रेष्ठका अनुसार पछिल्लो समयमा मानिसहरुमा स्वास्थ्यप्रति बढ्दै गएको चेतनालाई ध्यानमा दिँदै ‘वेलनेस सेन्टर’का रुपमा यो क्लिनिक स्थापना गरिएको हो। उनले क्लिनिकमा मानिसले आएर आफ्नो शरीरको सम्पूर्ण जाँच गर्नसक्ने जानकारी दिइन्।
‘स्वास्थ्यका विषयमा अहिले मानिस सचेत हुँदै गइरहेका छन्। त्यसकारण रोग लाग्नुभन्दा पहिलानै आफ्नो शरीरका बारेमा सम्पूर्ण जानकारी लिन आवश्यक परीक्षण गर्ने क्रम बढीरहेको छ,’ उनले भनिन्, ‘त्यही कुरालाई मध्यनजर गर्दै मानिसहरुलाई आफ्नो शरीरको बारेमा पहिला नै जानकारी दिन हामीले यो क्लिनिक सुरु गरेका हौँ।’
उनका अनुसार क्लिनिकमा प्याथोलोजी (ल्याब) र रेडियोलोजीका सेवाहरु उपलब्ध छन्। प्याथोलोजी तर्फ आधुनिक र नविनतम उपकरण तथा प्रविधिहरु रहेका छन् भने रेडियोलोजी तर्फ पनि नयाँ प्रविधि भित्र्याइएको छ।
रेडियोलोजीतर्फ थ्री टेस्ला क्षमताको एमआरआइ, आधुनिक सिटी स्क्यान, स्तन क्यान्सरको जाँच गर्ने मेमोग्राम, डिजिटल एक्स रे, अल्ट्रासाउन्ड लगायतका सुविधा रहेको छ। यस्तै दाँतको थ्रीडी तस्बिर खिच्नसक्ने क्षमताको सिबिसिटी उपकरण समेत रहेको श्रेष्ठले जानकारी दिइन्।
क्लिनिकमा होलबडी चेकअप अन्तर्गत विभिन्न प्याकेजमा परीक्षणको सुविधा समेत रहेको उनले जाकनारी दिइन्। उनका अनुसार स्वास्थ्य परीक्षणका लागि आएका मानिसलाई पहिला प्याथोलोजिष्ट डाक्टरसँगको परामर्शपछि मात्र आवश्यकता अनुसार परीक्षण हुनेछ।
