काठमाडौं- किर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा आइतबार र सोमबार भएको क्याम्पस प्रशासन एवं आन्दोलनरत स्ववियु पदाधिकारीबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।
स्ववियुका कार्यवाहक अध्यक्ष डा सरोजमणि पोख्रेलले क्याम्पस प्रमुख एवं प्रशासन आफ्नो मागप्रति गम्भीर नभएको र वार्ता बिचमा नै क्याम्पस प्रमुखले अति तुच्छ शब्दसहित गाली गरेर स्ववियु पदाधिकारीहरुलाई अपमान गरेकाले वार्ता बिना निष्कर्ष टुङ्गिएको बताए।
उनका अनुसार वार्ता सकारात्मक नभएपछि क्याम्पसमा लगाइएको तालाबन्दी यथावत रहेको छ।
'क्याम्पस प्रमुखले उक्त तुच्छ व्यवाहारप्रती आत्मालोचना सहित माफी नमागेसम्म पुन: वार्तामा नबस्ने र अझै संघर्षका कार्यक्रमहरु अगाडि बढ्ने छौं, उनले भने।
स्वतन्त्र विद्यार्थी युनियनले गत मङ्सिर ३ गते देखि रिक्त पदहरुको एकमुष्ट विज्ञापन हुनुपर्ने, कुनियतपुर्वक निश्चित व्यक्तिहरुलाई पद्स्थापना गर्नेगरी खोलिएको विज्ञापन खारेज गर्नुपर्ने, छात्र एवं छात्राहरुको होस्टेलको व्यवस्थापन गर्नुपर्ने, आयुर्वेद अध्ययन संस्थान निर्माणमा जोड दिनुपर्ने लगायतका माग राखी आन्दोलन सुरु गरेको हो।