काठमाडौँ– महिनावारी तथा महिनावारी स्वच्छताको विषय सञ्चारमाध्यममा कत्तिको स्थान पाएको छ भनेर एक संस्थाले अध्ययन गरेको छ।
मित्र समाज तथा वाटरएडको सहयोगमा एक वर्षको अवधिमा महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित विषयमा सञ्चारमाध्यमा आएका समाचार तथा लेखहरुको अनुगमन गरिएको हाे।
मित्र समाजले सञ्चार अनुगमन अध्ययनमा एक वर्ष लगाएर प्रिन्ट र अनलाइन गरी १८ सञ्चार माध्यममा अनुगमन गरिएको हो।
कार्यक्रममा खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मगरले भनिन् 'अझै पनि महिनावारीलाई समाजमा विभेद,अछुत, दुषित भनेर व्याख्या गरिन्छ तर त्यसरी अलग्याएर हेर्नु हुँदैन। मगरकाअनुसार जबसम्म महिनावारी एउटा महिलाको अपिरिहार्यता हो, परिपक्वता हो, व्यक्तिगत मामला हो भनेर आत्मसाथ गरिँदैन तबसम्म विभेद कायम नै हुन्छ।
अध्ययनका टिम लिडर छिरिङ ग्लान तामाङले अझै पनि महिनावारी सम्बन्धी विषयलाई हल्का तरिकाले व्याख्या गरिने बताए। उनले यस अध्ययनको मुख्य उद्धेश्य महिनावरी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुख्य मुद्धाहरुको बारेमा ज्ञान र बुझाईलाई बढाउनु बताए।
उनले याे अध्ययनले महिनावारी स्वच्छता व्यवस्थापनलाई क्षेत्रगत नीति तथा योजनाहरुमा समावेश गराउनका लागि गरिने बहसलाई सहयोग पुग्ने बताए।
ती एक वर्षको अवधिमा ४१० वटा लेखहरु त्यससम्बन्धी प्रकाशित भएकोमा १७ वटा शिर्षकहरु विभाजन गरिएको थियो।
स्वच्छता प्रबद्र्धन अभियान, किशोरीहरुका लागि सफा र सुरक्षित शौचालय, समाजिक बन्देज तथा भेदभाव, छाउपडीमा बलात्कार तथा अन्य दुर्घटनाहरु आदि विषयहरु समेटिएका थिए।
अध्ययनले पाठकहरुमा चासो जगाउन कुनै कार्यक्रम, घटनाहरु अथवा सम्बन्धित मुद्धाहरुमा लेखिएका फलोअप लेखहरुपनि प्रकाशित हुँदा प्रभावकारी हुने बताएको छ ।
साथै कानुनको कार्यान्वयनका अवस्था फितलो रहेकाले कडा रुपमा कानुन कार्यान्वयन गर्नका लागि वकालत गर्ने, महिनावारी व्यवस्थापन गर्न सहज बनाउनका लगि विद्यालयमा उमेरअनुसारको पाठ्यक्रमहरु लागु गर्ने आदि सुझाव दिएको छ।