काठमाडौं- नेसनल मेडिकल कलेजका विद्यार्थीले आन्दाेलनका क्रममा हातपात गर्नेहरुलाई कारबाहीकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दर्ता गराएका छन्। निवेदन १८औँ ब्याच प्रथम वर्ष अध्ययनरत विद्यार्थीले दर्ता गराएका हुन्।
अतिरिक्त शुल्क फिर्ता तथा समायोजन गरियोस् भन्दै शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनका क्रममा कलेज प्रशासनले मानसिक यातना दिँदै आएको विषयमा निवदेन गराएकोमा कुनै किसिमको कारबाही नभएपछि पीडित विद्यार्थीले पुन: जाहेरी गर्ता गराएका हुन्।
विद्यार्थीले अझै पनि कलेज प्रशासन निकट नातेदारहरु(सिनियर) विद्यार्थीले प्रशासनकै गेटमा हातपात गरिरहेको आरोप लगाएका छन्। साथै १८ औं ब्याचका छात्रामाथि पनि हातपात गरेको र ज्यान मार्ने, जिउँदै जलाउने र जिउँदै गाड्ने जस्ता डरधम्की दिएको निवदेनमा भनिएको छ।
निवेदनमा हातपात गर्ने ११ जनाको नाम उल्लेख गरिएको छ। विद्यार्थीहरुले सिनियरले दुःख दिएको भिडियो क्लिप पनि रहेको बताएका छन्।
उनीहरुले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै होस्टलभित्र शान्तिपूर्ण बस्ने वातावरण व्यवस्था गर्न आग्रह गरेका छन्।
विद्यार्थीहरुमाथि ज्यादती हुँदा पनि कलेज प्रशासनले कुनै प्रक्रिया अघि नबढाएकाले निवदेन दिन बाध्य भएको विद्यार्थीहरु बताउँछन्।