काठमाडौं- ह्याम्स अस्पतालले २० वर्षीय महिलामा ब्रेन एन्युरिजमको इन्टरभेन्सन पद्धतिबाट सफल उपचार सम्पन्न गरेके छ। हालसम्म प्राय: ब्रेन एन्युरिजमको उपचार टाउकोको शल्यक्रिया गरेर यस्तो समस्याको उपचार हुने गर्छ।
ह्याम्समा वरिष्ठ न्युरो सर्जन तथा न्युरोइन्टरभेन्सनल सर्जन डा मनोज बोहरा तथा एनेस्थेलोजिष्ट डामुरारी राज उप्रेती र डासुरज लामिछानेसहित क्याथ ल्याब टोलीद्वारा न्युरोइन्टरभेन्सनको नौलो पद्धति प्रयोग गरी उपचार गरिएको हो। यो नयाँ पद्धतिमा टाउको नचिरी खुट्टाको रगतको नशाबाट विभिन्न किसिमको साधनको माध्यमले एन्युरिजम भित्र विशेष किसिमिको कोइल राख्ने काम भएको हो।
एन्जुरिजम भनेको मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो। यस्तो नली जुनसुकै बेलामा फुट्ने खतरा रहन्छ। यस्तो नसा फुट्यो भने ब्रेन ह्यामरेज भएर बिरामी प्यारालाइसिस हुनुका साथै ज्यान जाने खतरा रहन्छ।
डा बोहराका अनुसार न्युरो इन्टरभेन्सनबाट मष्तिस्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोकको पनि उपचार गर्न सकिन्छ। स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मष्तिस्कमा बन्द भएको रक्तनलीमा पुगिन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने रक्तक्लटलाई बाहिर निकाली पुनः रक्त सञ्चार गरिन्छ।
न्युरो इन्टरभेन्सन उपचार गर्न मष्तिस्क खोलेर गरिने उपचार पद्धतिभन्दा निकै कम समय लाग्ने र उपचारपछिको अस्पतालको बसाइ पनि कम हुने भएकोले अहिले यो संसारभरि नै निकै प्रभावकारी उपचारको रुपमा लिइन्छ।