काठमाडौं– दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा सुरु भएको छ।
नेपाल र दक्षिण पूर्वी एसियाली क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्यको पहुँचको उद्देश्य हासिल गर्न बैठक आयोजना गरिएको हो। बैठक डिसेम्बर ९ देखि १२ सम्म चल्ने छ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको वित्तिय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बैठक आयोजना गरेको हो।
बैठकमा दक्षिण पूर्वी एसियाका ७ देशका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी छन्।
मोतिविन्दु, दृष्टिदोष, डाइवेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन बैठकले मद्दत गर्ने विश्वास आयोजकले लिएका छन्।
बैठकमा विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहँुच सबै जनता समक्ष पु¥याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गरिने बताइएको छ।
यसका अलाव डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नका साथै राष्ट्रिय दृष्टि –२०२० को रिपोर्ट टुगों लगाउने तालिका निर्धारण गरिनेछ ।