काठमाडौं- दक्षिणपूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक आज सम्पन्न भएको छ। बैठक मंसिर २३ गतेबाट सुरु भएको थियो।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको वित्तिय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बैठक आयोजना गरेको थियो।
बैठकमा मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउनेबारे छलफल भएको प्रतिष्ठानकी कार्यकारी अधिकृत डा रीता गुरुङले जानकारी दिइन।
डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नुका साथै राष्ट्रिय दृष्टि २०२०को रिपोर्ट टुगों लगाउनेबारे पनि उक्त बैठकमा छलफल भएको थियो।
अक्टुबर २०१९ मा वल्र्ड भिजन रिपोर्टको विश्वव्यापी सुरुवात भएपछि आइएपीबी दक्षिण–पूर्वी एशियाली क्षेत्र (एसईएआर) ले विश्व स्वास्थ्य संगठनसँग क्षेत्रीय तहमा नजिकबाट काम गरिरहेको छ ।
नेपाल र दक्षिण पूर्वी एसियाली क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्यको पहुँचको उद्देश्य हासिल गर्न बैठक आयोजना गरिएको बैठकमा ९ देशका ३५ आँखा स्वास्थ्य विशेषज्ञको सहभागिता थियो।