फाइल तस्बिर
बनेपा- पनौती नगरपालिकाले वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ।
नगरप्रमुख भीम न्यौपानेले बर्थिङ सेन्टर र अहिले सञ्चालनमा ल्याएको ल्याब राम्रोसँग सञ्चालन गर्न निर्देशन दिए। पनौतीको मुख्य बजारमा बढ्दो जनसङ्ख्याको चापलाई ध्यानमा राखेर बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। अहिले पनौतीमा नै अस्पातल निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट रु ६५ लाख रकमसमेत आएको र उक्त रकमले छिट्टै भवन निर्माण हुने प्रमुख न्यौपानेले बताए।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बार्थिङ सेन्टर र ल्याबबाट दिने सबै सेवाहरु निरन्तर दिन आग्रह गर्दै केन्द्र सञ्चालनको क्रममा हुने अवरोध तथा अप्ठ्यारो कार्यमा सबैको साथ/सहयोग निरन्तर प्रदान गर्नका लागि आग्रह गरे। बर्थिङ सेन्टरमा पहिलोपटक बच्चा जन्माउने महिलालाई वडा सदस्य पुरुषोत्तम कर्माचार्यले रु पाँच हजार ५५५ नगद दिने घोषणा गरेका छन्।
बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक जनशक्ति नगरपालिकाले उपलब्ध गराउने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए। पूर्वाधार भएको र जनघनत्व बढी भएकाले सो ठाउँमा बर्थिङ सेन्टरको स्थापनासँगै ल्याबमा जोड दिएको उनले बताए। वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले नगर क्षेत्रका महिला थप लाभान्वित हुने बताए।
बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसी प्याकेजअन्तर्गत विभिन्न १८ प्रकारका खकार, रगत र पिसाब परीक्षण गरिने ल्याब प्रमुख दिपेश घिमिरेले जानकारी दिए। सो केन्द्रमा हेल्थ असिस्टेण्ट, अहेव, अनमी, ल्याब असिष्टेण्ट गरी नौ स्वास्थ्यकर्मी रहेका जनाइएको छ।
अस्पताल भवन निर्माण हुँदै
गाउँमा अस्पताल स्थापनाका लागि आवश्यक संरचना निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ। चौरीदेउराली गाउँपालिका–५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माणका लागि प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माणकार्य शुरु गरिएको हो।
साविक धुसेनी शिवालय स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बन्ने भएको हो। त्यसका लागि आवश्यक पर्ने १६ रोपनी जग्गा एक वर्ष अगाडि नै व्यवस्थापन गरिसकिएको र स्वास्थ्य चौकीको नाममा पहिला नै भएको पाँच रोपनी गरी २१ रोपनी जग्गामा सो भवन निर्माण भइरहेको छ। धुलिखेल निर्माण सेवाले सो भवन निर्माणको जिम्मा पाएको काम तीव्रगतिमा भइरहेको निर्माण व्यवसायी उद्धव गौतमले बताए।
चौरीदेउराली गाउँपालिकाका प्राविधिक कृष्ण भण्डारीले अहिले पहिलो टाइपिङको काम भइरहेको बताए। उनका अनुसार रु चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको सो भवन अहिलेका लागि एक तलाको बन्नेछ। सो वडाका वडाध्यक्ष राजकुमार गौतमले शिलान्यासलगत्तै निर्माणको काम निरन्तर अगाडि बढिरहेको बताए। अस्पतालका लागि चिकित्सक नियुक्तिको प्रक्रियासमेत अगाडि बढिरहेको जनाएको छ।
गत कात्तिक २५ गते प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरेको सो भवन अहिले पिलर उठाएर टाइपिङको काम भइरहेको छ। अस्पताल बनेपछि सो गाउँपालिकालगायत आसपास रहेका भुम्लु गाउँपालिका, रामेछाप र दोलखाका बासिन्दालाई समेत सेवा पुग्ने जनाइएको छ। रासस