बनेपा- पनौती नगरपालिकाले वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ।
पनौतीको मुख्य बजारमा बढ्दो जनसङ्ख्याको चापलाई ध्यानमा राखेर बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको हाे
प्रमुख नगर प्रमुख भीम न्यौपानेले पनौतीमा अस्पातल निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट रु ६५ लाख रकम आएको जानकारी दिँदै उक्त रकमले छिट्टै भवन निर्माण हुने बताए।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बार्थिङ सेन्टर र ल्याबबाट दिने सबै सेवाहरु निरन्तर दिन आग्रह गर्दै केन्द्र सञ्चालनको क्रममा हुने अवरोध तथा अप्ठ्यारो कार्यमा सबैको साथ÷सहयोग निरन्तर प्रदान गर्नका लागि आग्रह गरे।
बर्थिङ सेन्टरमा पहिलोपटक बच्चा जन्माउने महिलालाई वडा सदस्य पुरुषोत्तम कर्माचार्यले रु पाँच हजार ५सय ५५ नगद दिने घोषणा गरेका छन्।
बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक जनशक्ति नगरपालिकाले उपलब्ध गराउने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।
पूर्वाधार भएको र जनघनत्व बढी भएकाले सो ठाउँमा बर्थिङ सेन्टरको स्थापनासँगै ल्याबमा जोड दिएको उनले बताए। बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसी प्याकेजअन्तर्गत विभिन्न १८ प्रकारका खकार, रगत र पिसाब परीक्षण गरिने ल्याब प्रमुख दिपेश घिमिरेले जानकारी दिए।
सो केन्द्रमा हेल्थ असिस्टेण्ट, अहेव, अनमी, ल्याब असिष्टेण्ट गरी नौ स्वास्थ्यकर्मी रहेका जनाइएको छ । रासस