काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विज्ञान र मानविकीबीचका विभिन्न आयामहरुको विषयमा विचार गोष्ठी हुने भएको छ।
प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फयर सोसाइटीले विचार र गोष्ठी मार्फत चिकित्सा विज्ञान र मानविकीबीचका आयामहरुको खोजी गर्न लागेको हो।
‘एक्स्प्लोरिङ न्यू फ्रन्टायर्स अफ कोलाबरेसन : मेडिसिन एन्ड ह्युम्यानिटिज’ विषयमा प्रतिष्ठानको हलमा शुक्रबार र शनिबार कार्यक्रम गर्न लागेको हो।
‘सिम्पोसियम कम टक सो–५ नाम दिइएको उक्त कार्यक्रम प्रतिष्ठानको अडिटोरियम हलमा हुने भएको छ।
कार्यक्रममा विभिन्न चिकित्सा विज्ञान र मानविकीका विभिन्न आयामसँग सम्बन्धित विभिन्न पाँच विषयमा सहभागीसँग छलफल हुने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा हुन गइरहेको सो कार्यक्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा डा गुरु प्रसाद खनाल, नेपालका लागि अष्ट्रेलियन राजदुत पेट बड, समाजवादी चिन्तक एवम् नेता प्रदीप गिरि, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान मेडिसिन विभाग प्रमुख प्रा डा सन्जिव शर्माले आ–आफ्नो धारणा राख्ने छन्।
यसैगरी, प्रतिष्ठानको प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्रा डा मोहन चन्द्र रेग्मी, रोल्पा थवाङमा जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका सस्थापक जापानी हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रुचिकी इसिदा, सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल, प्रा डा बद्री बडु, डा मधुर बस्नेत, लेखक प्रा सञ्जीव उप्रेती, बिबिसीको एक सय प्रेरणादायी महिलाको सूचीमा पर्न सफल बोनिता शर्मा, प्रा डा अर्जुन कार्की, स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकाल, भुषिता भट्टराई, डा सागर पौडेल, कृष्ण राई र डा एल बि बस्नेत लगायतले पनि आ–आफ्नो धारणा राख्ने छन्। सो कार्यक्रम प्रा डा माधव लम्सालको संयोजकत्वमा संचालन हुनेछ।