काठमाडौं- पूर्व स्वास्थ्य मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले कडा रोगका बिरामीले पाउने भत्ता सरकारले कटौती गरेको भन्दै विरोध जनाएका छन्।
बोहरा स्वास्थ्य मन्त्री हुँदा मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय भएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको उक्त निर्णय वर्तमान सरकार गठन भएसँगै रोकिएको थियो।
त्यसयता बिरामीले भत्ताको माग गर्दै समयसमयमा आन्दोलन गर्दै आइरहेका छन्। बिरामीको आन्दोलनलाई समर्थन गर्दै पूर्व मन्त्री बोहराले विज्ञप्ति जारी गर्दै भत्ता वितरण पुनः सुरु गर्न माग गरेका छन्।
‘बिरामीहरूको लागि वितरण गरिने भत्ताको यथोचित व्यवस्था समेत गरिसकेको अवस्थामा सो निर्णयलाई त्यसपछि बनेको बर्तमान सरकारबाट बदर गरियो। सो निर्णय किन बदर गरियो ? आफूभन्दा अगाडिको सरकारले गरेको लोकप्रिय निर्णय भएकोले ? के त्यो निर्णयले त्यो अशक्त बिरामीहरूलाई फाइदा हुन्थेन ? के त्यो निर्णय बिरामीको हितमा थिएन ?’ उनले विज्ञप्ति मार्फत सरकारलाई प्रश्न गरेका छन्।
