कपिलवस्तु - कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन्। सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्।
आज बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उहाँले ट्र्याक्टरमा नै छोरा जन्माएको हो। विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन्।
गर्भवती महिला त्यो पनि सुत्केरी ब्यथाले च्यापेको अवस्थमा ट्र्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो। चन्द्रौटा होटल अगाडि बीच शहरमा उर्मिलालाई ब्यथाले च्यापेपछि बच्चा जन्मिएको हो।
बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किन लागेको उर्मिलाका सासू कमलावती कोरीले बताइन। गाउँमा एम्बुलेन्स नहुँदा ट्र्याक्टरमा ल्याउन बाध्य भएको जानकारी दिइन।
गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन्। “गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफू जस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेको छ”, स्थानीवासी कलम कोरीले भने “भगवान्को कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो।” गरीब छौँ स्थानीय तहले एम्बुलेन्सका लागि कुनै पहल नगर्दा समस्या भएको उनको भनाई छ।
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन। यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।
यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। रासस