स्याङ्जा- जिल्ला अस्पताल स्याङ्जामा अस्पताल व्यवस्थापन समितिको आफ्नै व्यवस्थापकीय पहलमा टेलिमेडीसिन कार्यक्रमको शुभारम्भ भएको छ। जिल्ला अस्पतालबाट इन्टरनेटको माध्यमबाट भिडियो कल गरी स्वास्थ्यकर्मीले जटिल किसिसका बिरामीका समस्या अन्यत्र कार्यरत विशेषज्ञ चिकित्सकका सामु राख्ने र विशेषज्ञ चिकित्सकबाट आवश्यक परामर्श/सल्लाह/सुझाव लिन सो सेवाबाट सकिन्छ।
आफ्नै आन्तरिक बजेटबाट सञ्चालित सो सेवा नेपालको स्वास्थ्य नीति २०७६ को ई-हेल्थ सेवाको एक आयाममध्ये एक भएको अस्पताल व्यवस्थापन समितिका प्रमुख डा सुशीलकुमार मरासिनीले बताए।
चिकित्साका विविध विषयका विशेषज्ञसँग सम्झौता गर्दै लगिने सो कार्यक्रम अन्तर्गत पहिलो पटक पुतलीबजार- ३ स्याङ्जा जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा कार्यरत बालरोग विशेषज्ञ डा रामहरि शर्मासँग अस्पतालमा नि:शुल्क सेवा प्रदान गर्ने सर्तमा आज एक सम्झौता (एमओयु) पत्रमा हस्ताक्षर भई आदान-प्रदान भएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख सीमाकुमारी क्षेत्रीले आफ्नो स्वास्थ्य समस्या भिडियो कल मार्फत चिकित्सकसँग राख्ने र विशेषज्ञ चिकित्सकले परामर्श गरेर शुभारम्भ गरिएको थियो। अस्पतालका एमडिजिपी कन्सल्टेन्ट डा नारायणबहादुर गोदारले यस्ता सम्झौतालाई थप र नियमित गर्दै लगिने जानकारी दिए।
कार्यक्रमका सहजकर्ता बालरोग विशेषज्ञ डा रामहरि शर्माले आफूले आफ्नै जन्मस्थानमा नि:शुल्क टेलिमेडिसिन सेवा दिन पाउँदा खुसी लागेको बताउँदै सेवाग्राहीलाई सो सेवाबाट अधिकतम लाभ लिन आग्रह गरे।
सो अवसरमा नगरपालिकाका उप-प्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर मल्ल, अस्पताल व्यवस्थापन समिति सदस्य लोकराज शर्मा, निवर्तमान अध्यक्ष दीर्घनारायण शर्मा, स्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त कार्यालय प्रमुख अमृतकुमार श्रेष्ठ, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, लायन्स क्लब अफ स्याङ्जाका रामचन्द्र पोख्रेल, लायन्स क्लब अफ पुतलीबजारका श्रीबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ, स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, स्थानीय थमनारायण उपाध्याय लगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो।
अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर (चिकित्सा तथ्यांक सुपरिवेक्षक) बुद्धिसागर अधिकारीले अस्पतालले सो सेवा विस्तारका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संयोजक रहने र अस्पताल प्रमुख तथा चिकित्सा तथ्यांक सुपरिवेक्षक सदस्य रहने गरी एक समिति गठन समेत भएको जानकारी दिए।