म्याग्दी- बेनी अस्पतालमा आजदेखि बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ।
लाइनमा बस्नुपर्ने झण्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन सो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। “आफ्नो पालोमा टिकट लिएर चिकित्सकसम्म पुगी उपचार गराउन यसले सजिलो बनाएको छ”, उनले भने। लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यले उपचारका लागिसमेत सहज भएको ६० वर्षीय यामबहादुर पुनले बताए।
यो प्रणालीको शुरुआतबाट विगतमा लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने र इमरजेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अमृत अधिकारीले बताए।
अस्पतालले निकट भविश्यमै मिर्गौला रोगीका लागि डायलासिस सेवा शरु गर्ने तयारी गरेको पनि उनले जानकारी दिए। रासस